प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी

11.7k Shares

काठमाडौँ -  गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ। भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ।

यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दू धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गममा स्नान गर्ने गर्छन्। मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ। हिन्दू धर्माबलम्बीहरूको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन्।

उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले एक सय ४४ वर्षपछि परेको महाकुम्भमेलाको विशेष महत्व रहेको भन्दै प्रयागराज महाकुम्भको अद्भुत आनन्द लिन सबैमा आह्वान गरे। उनले सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि महाकुम्भमेला उपयोगी बन्ने विश्वास व्यक्त गरे।

मेलाको रौनक

मेलामा स्नान गर्न आउने तीर्थालु भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। मेलालाई दृष्टिगत गर्दै भारत सरकारले २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। मेलाको आकर्षणका रूपमा इलाहवाद सडकका चोकचोकमा सूचनामूलक ब्यानर, पोष्टर र झिलीमिली बत्तीले झकिझकाउ पारिएको छ। तीन नदीको सङ्गमस्थलमा दायाँ र बायाँ किनारमा तीर्थालु भक्तजनका लागि बासस्थानका निम्ति स्तर अनुसारको सुविधासम्पन्न अस्थायी ‘टेन्ट हाउस’हरू निर्माण गरिएका छन्। रातको समयमा टेन्ट हाउस क्षेत्रमा झिलीमिली बत्तीले मेलाको रौनकलाई थप बढावा दिएको छ।

मेलामा बास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर रहेका छन्। एक लाखभन्दा बढी टेन्ट स्थापना गरिएको छ। मेलामा नागाबाबा, अघोरी बाबाको भिन्न आकर्षण देखिन्छ। मेलाको सुरक्षालाई मध्यनजर गर्दै नदीको पानीमुनि २५ हजारभन्दा बढी सिसी क्यामेरा जडान गरिएका छन्। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मेलामा पुग्ने तीर्थालुको सहजताका लागि प्रयागराज विमानस्थलबाट सात हजारभन्दा बढी बसको व्यवस्था गरिएको छ। पाँच सय ५० सटल बस, १३ हजारभन्दा बढी रिक्सा, १३ हजार ट्रेन, तीन हजार विशेष ट्रेनको व्यवस्था मिलाइएको छ।

यसैगरी, मेला क्षेत्रमा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन्। सरकारी र निजी गरी ६ हजार शय्याको व्यवस्था छ। एयर एम्बुलेन्ससहित सडक एम्बुलेन्सको व्यवस्था गरिएको छ। हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने प्रबन्ध समेत गरिएको छ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत महाकुम्भमेला अवलोकन गर्न पुग्ने बताइएको छ।

दश करोड बढीले स्नान गरे

महाकुम्भमेलामा हालसम्म १० करोडभन्दा बढी व्यक्तिले पवित्र स्नान गरेको भारतीय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। दैनिक एक करोड हाराहारी भक्तजन महाकुम्भ पुगिरहेका छन्। मेलाको आज १०औँ दिनमा पनि तीर्थालुको उत्तिकै घुइँचो रहेको छ।

पवित्र नदीहरूको सङ्गममा स्नान गर्दा पापमोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ। मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ। दैनिक एकदेखि डेढ करोड भक्तजनले गङ्गा स्नान गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार