चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

11.6k Shares

काठमाण्डौ – चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादीरहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा कृषि विज्ञ कृष्ण पौडेल, सुजन अमागाईं, चन्द्रप्रसाद अधिकारीलगायतले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

उहाँहरुले पछिल्लो समय कृषि उपजमा विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । साथै विषादीको अनियन्त्रित प्रयोग भइरहेकोमा यसलाई घटाउँदै लैजानुपर्नेमा विज्ञको जोड छ । नेपालमा धेरै जसो तरकारीमा विषादीको प्रयोग उच्च रहेको विज्ञको भनाइ छ ।

विषादी छर्दा किसान आफैँ पनि असुरक्षित हुने भएकाले विज्ञहरुले किसानमा थप चेतनाको खाँचो रहेको बताउनुभएको छ । सुधारिएको प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गरी रासायनिक विषादीको प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको उहाँहरुको तर्क छ ।

विषादीको जथाभावी बिक्री वितरणलाई पनि नियन्त्रण गर्न जरुरी रहेको कृषि विज्ञले सुझाव दिनुभएको छ । किसानले विषादी प्रयोगको मात्रा बढाउँदै लगेको अवस्थामा यसले मानव स्वास्थ्यसँगै वातावरणमा पनि नकारात्मक प्रभाव पारिरहेको कृषि विज्ञ पौडेलले बताउनुभयो ।

सम्बन्धित समाचार