काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले २२ लाख ५० कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।
निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयरमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने जनाइएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरको एप तथा वेबमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।