ललितपुर । ललितपुर जिल्लाका खेतियोग्य जमिन पछिल्लो समय भूमाफियाको कब्जामा परेको छ ।
ललितपुर जिल्लाका अधिकांश खेतियोग्य जमिनदेखि लिएर जंगल, सार्वजनिक जग्गा, चिहानसमेत मासी भूमाफियाहरुले सेटिङमै टुक्रा पारी कित्ताकाट गरी घडेरी बनाई विक्री वितरण गर्दै आइरहेको पाइएको छ ।

पछिल्लो समय ललितपुरको चापागाउँ, ठेचो, सुनाकोठी, धापाखेल र पाटन एरियाको खानेपानीको मुहानको रुपमा रहेको चापागाउँको मुलडोलमा भूमाफियाहरुले जथाभावी जंगल मास्नेदेखि लिएर जग्गा सम्याउने नाममा डोजर चलाउँदा खानेपानीको मुहानै सुक्ने अवस्थामा पुगेको छ ।

ललितपुरका धेरै ठाउँले खानेपानको सुविधा लिइरहेको सो मुहान नजिकै रहेको जग्गामा जथाभावी डोजर चलाउँदा खानेपानीको मुहान सुक्ने अवस्था आउनसक्ने देखिँदै आएको छ । मुलडोलका स्थानीयका अनुसार भूमाफियाहरुले प्रशासन र स्थानीय तहका जिम्मेवार व्यक्तिसँग सेटिङ्ग मिलाई जथाभावी डोजर चलाई जंगल मास्नेदेखि लिएर चिहानलगायत सार्वजनिक जग्गासमेत मास्ने काम भइरहेको गुनासो खोजतलाससँग पोखेका छन् ।
खानेपानीको मुख्य स्रोतको रुपमा रहेको मुलडोल पानी संकलन गर्ने ट्यांकी नजिकै भूमाफियाहरुले सस्तोमा जग्गा खरिद गरी प्लटिङ गर्ने योजना बनाइरहेको र सो प्लटिङ गर्दा डोजर चलाउनुपर्ने भएका कारण सो क्षेत्रमा डोजर चलाएको खण्डमा खानेपानीको मुहानसमेत सुक्नसक्ने भएका कारण सम्बन्धित निकायलाई यसतर्फ ध्यान दिई सो क्षेत्रमा डोजर चलाउन नदिनका लागि गोदावरी नगरपालिकाका प्रमुख तथा उपप्रमुखकोमा डेलिगेसनसमेत जाने तयारीमा रहेको स्थानीयले खोजतलासलाई बताएका छन् ।

गोदावरी नगरपालिकाले भदौसम्म डोजर चलाउन नपाउने भनी सूचना जारी गरेको थियो । सो सूचना भदौमा सकिएपछि असोज महिनामा डोजर चलाई जग्गा सम्याउने योजनामा भूमाफियाहरु लागिपरेको स्थानीयले गुनासो पोखेका छन् । यदि सो क्षेत्रमा डोजर चलाउने कार्य भएमा गोदावरी नगरपालिका र प्रशासनमा समेत घेराउ गर्न जाने स्थानीयले योजनासमेत बनाइसकेको बुझिन आएको छ ।
भूमाफियाले सम्बन्धित निकायहरुमा सेटिङ मिलाई दशैंको मुखमा जथाभावी डोजर चलाउने योजनामा रहेको स्थानीयले गुनासो पोखेका छन् । चापागाउँ, ठेचो, सुनाकोठी, धापाखेल र पाटन एरियामा दैनिक खानेपानीको स्रोतमा रहेको सो मुहान नजिक जथाभावी डोजर चलाइए जस्तोसुकै कदम चाल्न सबै स्थानीय तयार रहेका छन् ।
भूमाफियाहरुले मुलडोल एरियाका चल्ताफुर्ता एकदुई जनालाई प्रलोभन दिई आफ्नो पक्षमा उभिन राम्रै आर्थिक खर्च गरिसकेको पनि एक स्थानीयले खोजतलासलाई बताएका छन् ।
स्मरणीय छ, सरकारले पुख्र्यौली जग्गामा अंशबण्डाको हिसावले मात्र कित्ताकाट गर्न पाउने तर खरिदविक्रीका लागि जग्गा टुक्रा—टुक्रा पारी कित्ताकाट गर्न रोक लगाए पनि भूमाफियाहरुले प्रति कित्ताकाट एक लाखका दरले नापी तथा मालपोतमा सेटिङ मिलाई मापदण्ड विपरित आफूअनुकूल कित्ताकाट गर्दै आइरहेका छन् ।