झापा – बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर नगरपालिका–१३ मा सञ्चालनमा रहेको 'लिफ प्लस प्रालि' ले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा निर्यात भइरहेको जनाएको छ ।
प्रालिका प्रबन्ध निर्देशक कोविदसिंह बानियाँले सुपारीको पातबाट बनेका सामान वातावरणमैत्री र रसायनमुक्त हुने भएकाले स्वदेशी सुपरमार्केटदेखि विदेशका पार्टी प्यालेस र रेस्टुरेन्टहरूमा लोकप्रिय बनेको बताउनुभयो । आर्थिक वर्ष २०८०/१ मा एक करोड ६० लाख रुपैयाँ बराबरको सुपारीका थाल बटुकालगायतका सामान बिक्री भएको जनाउँदै उहाँले ६० प्रतिशत अर्थात् एक करोड रुपैयाँका सामग्री युरोप र अमेरिका निर्यात भएको बताउनुभयो ।
सुपारीको राजधानी मानिएको झापामा २०७४ सालमा नयाँ सोचका साथ अघि बढ्न चाहने युवा व्यवसायीको एउटा समूहले मेचीनगर–९ मा सुपारीको पातबाट घरायसी सामान उत्पादन गर्ने उद्योग लिफ प्लस प्रालि स्थापना गरेको थियो । मकवानपुरका कोविदसिंह बानियाँ, दाङका स्वाभिमान आचार्य, झापाका हरि दाहालको संयुक्त लगानीमा एक करोड ५० लाख रुपैयाँमा स्थापना भएको उद्योगमा अहिलेसम्म चार करोड रुपैयाँ लगानी भइसकेको छ ।