कक्षा कोठामा अभिभावक कार्यक्रम

11k Shares

नेपालगन्ज। आफ्ना बालबालिकाको शैक्षिक अवस्था थाहा पाएर त्यसमा सुधार ल्याइ शिक्षालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने जनाउँदै बाँकेको कोहलपुर नगरपालिकाको एक विद्यालयले नयाँ अभ्यासको शुरु गरेको छ । 

सो अभ्यास अन्तर्गत सो विद्यालयमा ‘कक्षा कोठामा अभिभावक कार्यक्रम’ सञ्चालन गरिएको हो । 

कोहलपुर –११ टाउन प्लानिङ्गमा रहेको सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित कोहलपुर माध्यामिक विद्यालयले ‘कक्षा कोठामा अभिभावक कार्यक्रम’ सञ्चालन गरेर अभिभावकलाई बालबालिकाको शैक्षिकस्तर बारेमा जानकारी दिन र शैक्षिक गुणस्तर बृद्धि गर्न सुझाव सल्लाह लिन सुरु गरिएको कोहलपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर न्यौपानेले बताउनुभयो । 

उहाँले बालबालिकाको सही शैक्षिक अवस्थाबारे प्रत्यक्ष जानकारी गराउन अभिभावकलाई कक्षासम्म ल्याउन सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न त्रिकोणात्मक सम्बन्धको आवश्यकता रहेकाले सो कार्यक्रम सञ्चालन गर्नुपरेको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो । 

सामुदायिक विद्यालयमा अभिभावकहरुको उपस्थिति नहुने गरेकाले उहाँहरुले आफ्नो छोराछोरीको पढाइको बारेमा जानकारी नपाउने हुँदा जानकारी दिने उद्देश्यले अभिभावकलाई अनिवार्य रुपमा विद्यालयमा आउनुपर्ने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । 

बालबालिकाको शैक्षिक गुणस्तर र अभिभावकको सक्रियताका लागि यो कार्यक्रम राम्रो रहेको अधिकांश अभिभावकको प्रतिक्रिया छ । सो कार्यक्रमको श्ुरुवात कक्षा ७ मा अध्ययनरत बालबालिकाको कक्षा कोठाकाट सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत अभिभावकले बालबालिकाको पठनपाठनबारे प्रत्यक्ष थाहा पाउने, उनीहरुले के गरिरहेका छन् ? कसरी अध्ययन अध्यापन गरिरहेका छन् ? भन्ने विषयमा पनि जानकारी पाउने र कुनै कुरामा चित्त नबुझेमा विद्यालयलाई सुझाव दिनेछन् । 

कोहलपुर माविका अभिभावक धनराज योगीले यो कार्यक्रम निकै प्रभावकारी र राम्रो रहेको जनाउँदै यसले बालबालिकालाई नियमित बनाउनुका साथै विद्यालयको कक्षा कोठाभित्रको सबै गतिविधि अभिभावकलाई जानकारी दिने बताउनुभयो । 

विद्यार्थीका अभिभावकलाई विद्यालयमा उपस्थित गराई पढाइ बारेमा जानकारी लिने र त्यसलाई सुधार गर्ने अवसर मिल्ने भएकाले यो कार्यक्रम लाभदायी हुने अधिकांश अभिभावकको भनाइ छ । 

सम्बन्धित समाचार