रूसी मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता

10.5k Shares

एजेन्सी – रूसी राज्यको स्वामित्वमा रहेको कार्गो जहाज भूमध्यसागरको अन्तर्राष्ट्रिय पानीमा डुबेपछि दुई जना चालक दलका सदस्य बेपत्ता भएको रूसको विदेश मन्त्रालयले मङ्गलबार टेलिग्राममा जनाएको छ ।

बउर्सा मेजर ‘इन्जिन कक्षमा भएको विस्फोटपछि’ डुबेको मन्त्रालयको क्राइसिस युनिटले जानकारी दिएको हो । मन्त्रालयले १६ जना रुसी चालक दल सदस्यमध्ये १४ जनाको उद्धार गरेर स्पेनको कार्टाजेना बन्दरगाहमा लगिएको र दुई जना बेपत्ता रहेको जनाएको छ ।

स्पेनको समुद्री उद्धार सेवाले विज्ञप्तिमा जनाएअनुसार जहाजले सोमबार बिहान दक्षिणपूर्वी स्पेनको तटीय क्षेत्रमा खराब मौसममा रहँदा सङ्कट सन्देश पठाएको थियो । जसमा जहाज एकातिर ढल्किएको र लाइफबोट छोडिएको जनाइएको थियो ।

सेवाका अनुसार स्पेनले हेलिकप्टर र उद्धार नौकाहरू पठाएर बाँचेकाहरूलाई बन्दरगाहमा ल्याएको थियो । त्यहाँ रेडक्रसले उनीहरूलाई सहयोग गरेको थियो ।

त्यसपछि एउटा रुसी युद्धपोत आइपुग्यो र जहाज स्पेनिस र अल्जेरियाको पानीको बीचमा भएकाले उद्धार कार्यको जिम्मा लियो, त्यसपछि उर्सा मेजर रातभरमा डुबेको थियो ।

‘बचेका व्यक्तिहरूको विवरणअनुसार मालवाहक जहाजले होल्डमा खाली कन्टेनर र डेकमा दुईवटा क्रेन बोकेको थियो’, स्पेनिस उद्धार सेवाले भन्यो ।

रुसी विदेश मन्त्रालयले जहाज रक्षा मन्त्रालयअन्तर्गतको नागरिक यातायात र लजिस्टिक्स सेवा प्रदायक ओबोरोनोलजिस्टिकाको सहायक कम्पनीको स्वामित्वमा रहेको जनाएको छ ।

सम्बन्धित समाचार