टेकु प्रहरीको आडमा हिट्कोको असुली धन्दा

18.5k Shares

काठमाडौं । प्रहरीलाई प्रयोग गरी हिट्को प्रा.लि.ले असुली धन्दा चलाउँदै आएको समाचार खोजतलासले पत्ता लगाएको छ ।
हिट्को प्रा.लि.का फायर डिभिजनका चिफ अप्रेटिङ अफिसर प्रनभमान प्रधानले काठमाडौं प्रहरी परिसर टेकुको प्रहरीलाई प्रभावमा पारी खरिदै नगरेको बिल देखाउँदै असुली धन्दा चलाएको खुलेको हो ।
हिट्को प्रा.लि.को नाममा खरिद नगरिएको सामानको बिल बनाउँदै टेकु प्रहरी १४ नम्बर पिलरका प्रमुख इन्स्पेक्टर हेमन्त विक्रम राणाले भक्तपुरका विकास लाखेलाई छलफलको लागि बोलाएका थिए । लाखेले सो कम्पनीबाट २०७२ सालमा आफूलाई गाडी वास गर्ने मेसिन बुक गर्न गएकै भरमा २०७४ सालमा सामान खरिद गरेको भनी एक लाख ९३ हजारको बिल बनाई, बक्यौता बाँकी रकम ४६ हजार देखाई हिट्को प्रा.लि.का प्रनभमान प्रधानले प्रहरीलाई नै प्रभावमा पारी असुली धन्दा चलाएका छन् । एक लाख ९३ हजार रुपैयाँको बिलमा बाँकी ४६ हजार बिल तिर्न बाँकी भनिए पनि तिरेको भनिएको रकम कसले तिरेको समेत थाहा नपाएका प्रधानले प्रहरीलाई राम्रै प्रभावमा पारी सर्वसाधारणलाई दुःख दिने उद्देश्यले अगाडि बढेको प्रष्टरुपमा बुझ्न सकिन्छ ।
मंगलबार करिब ११ः३० बजेको समयमा इन्स्पेक्टर हेमन्त विक्रम राणाकै अगाडि प्रधानले खुलेरै प्रहरी सर्कुलेसन जारी गरेर भए पनि आफ्नो उठाउनुपर्ने झण्डै ६ करोड रुपैयाँ उठाइ छाड्ने पीडित विकास लाखेलाई सुनाएका थिए । लाखेलाई उपत्यकाका नाम चलेका गुण्डा नाइकेहरुको नाम लिँदै तपाईं यसलाई चिन्नुहुन्छ भन्दै धम्कीको भाषा प्रहरीकै अगाडि बोलिरहेका थिए । त्यतिबेलै पीडित विकास लाखेको नाममा इन्स्पेक्टर हेमन्त विक्रम राणाले कागज तयारीको लागि खेस्रो कोर्दै थिए । खेस्रोमा लेखिएको थियो, आजको मितिले दुई महिना भित्र बिकास लाखेले सामान लाने मान्छे भेटाइदिनुपर्ने, अन्यथा नभेटाएको खण्डमा विकास लाखेले नै पैसा तिर्नुपर्ने कागज बनाउँदै थिए । यसको प्रत्यक्षदर्शी खोजतलासका प्रतिनिधिले वास्तविकता बुझ्नका लागि एसएसपी अशोक सिंहसँग जानकारी लिँदा सिंहले डीएसपी नरेन्द्र चन्दसँग यसबारे बुझ्न आग्रह गरेका थिए । डीएसपी चन्दसँग यसबारेमा कुरा बुझ्न खोज्दा डीएसपी चन्दले इन्स्पेक्टर राणाले हेर्दै होलान् भन्दै पन्छिएका थिए । त्यसपछि इन्स्पेक्टर राणासँग हाम्रा प्रतिनिधिले लेनदेन विषयमा प्रहरीले हेर्न मिल्छ, त्यो पनि फर्जी जस्तो देखिएको बिलमा भनी प्रश्न गर्दा इन्स्पेक्टर राणाले निर्धक्कसँग भने, यस्तो केश हेर्न मिल्छ भन्ने जवाफ दिए । त्यसपछि खोजतलास प्रतिनिधिले आफ्नो परिचय दिएपछि इन्स्पेक्टर राणा र असुलीकर्ता आफ्नो कार्यकक्षभित्रबाटै हिँडे र पीडितलाई कागज गराउने भनिए पनि त्यसै छाडियो । यस्तै प्रकृतिका पैसा उठाउनुपर्ने धेरै बिलहरु इन्स्पेक्टर राणाले लाखेकै बिलसँगै राखेका थिए ।
यो घटनाबाट प्रहरीले यस्तै व्यक्तिगत फाइदा र असुली धन्दालाई प्रश्रय दिएको पुष्टि मिल्छ । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले पीडितलाई राहत र पीडकलाई तत्काल कारबाहीको दायरामा ल्याउने नीति प्रहरीले अबलम्बन गर्नुपर्ने धाराणा राख्दै आए पनि आईजीपी थापाको यस्तो धारणालाई इन्स्पेक्टर राणा जस्ताले धोती लगाउँदै आएको यो घटनाले पुष्टि गर्छ ।

सम्बन्धित समाचार