बागलुङ। बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।
पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो । बर्सेनि जिल्लामा कृषि क्षेत्रका लागि करोडौँका बजेट परे पनि योजना समयमा सम्पन्न नहुँदा किसान मर्कामा परेका हुन् ।
चालु आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट ८८ आयोजना परेका छन् । गण्डकी प्रदेश र सङ्घीय सरकारअन्तर्गतका उक्त आयोजनाका लागि प्रदेशको रु १४ करोड बजेट परेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १० वटै पालिकाहरूमा योजना परेका छन् ।
गलकोट नगरपालिका–११ का कर्णबहादुर काउचाले सिँचाइको सुविधा नहुँदा पछिल्लो समय धेरै खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेका बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा साना खोलाबाट कुलो निर्माण गरेर सिँचाइ गर्ने गरेको स्मरण गर्दै अहिले मुहान सुक्दै गएपछि धेरै जमिनमा खेतीपाती हुन छोडेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “यो क्षेत्रमा धेरै ठाउँमा धान फल्ने जग्गा हुँदा पनि सिँचाइको समस्याले उब्जनी भएको छैन । धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, आकाशे पानीको भरमा धान रोप्नुपर्ने अवस्था छ, खेतीयोग्य जमिनमा सिँचाइको राम्रो सुविधा नहुँदा परनिर्भर बन्नुपरिरहेको छ । सरोकार भएका निकायले यो समस्या समाधान गरी किसानलाई राहत दिनुपर्छ ।”