डेढ लाख घुस प्रकरण, एसपीले नखाने, मातहतले असुल्ने !

1.4k Shares

बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा वास्तवमा कसले चलाइरहेको छ ? जिल्लाको प्रहरी कमान्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईको निर्देशन चलिरहेको छ कि प्रहरी संगठनभित्रै सक्रिय केही विवादित प्रहरी कर्मचारीको छुट्टै सञ्जालले समानान्तर रूपमा प्रहरी प्रशासन सञ्चालन गरिरहेको छ ? यतिबेला पर्सा प्रहरीभित्र देखिएका गतिविधिले यस्ता गम्भीर प्रश्न जन्माएका छन्।
एसपी पवनकुमार भट्टराईले अहिलेसम्म तस्करीको लाइनबाट रकम लिएको, मुद्दा मामिलामा आर्थिक लेनदेन गरेर आरोपीलाई उन्मुक्ति दिएको वा विगतमा जस्तो मातहतका थाना, चौकी तथा कार्यालयबाट महिनावारी रकम उठाएको देखिएको, सुनिएको छैन। त्यस्तै, घुमुवा परिचालन गरेर तस्कर र व्यापारीबाट रकम असुल्ने काममा पनि एसपी भट्टराई स्वयं संलग्न भएको सार्वजनिक रूपमा देखिएको छैन। तर विडम्बना, एसपीले त्यस्तो काम नगरेको भनिए पनि जिल्लामा तस्करी रोकिएको छैन। मुद्दा मामिलामा हुने भनिएको आर्थिक चलखेल रोकिएको छैन। घुमुवाको नाममा हुने रकम असुली पनि रोकिएको छैन। आखिर एसपीको नेतृत्वमा रहेको जिल्ला प्रहरी कार्यालयभित्र यी गतिविधि कसको संरक्षण र निर्देशनमा चलिरहेका छन् ?
यसको एउटा उदाहरण दसैँको फूलपातीका दिन भएको घटनालाई लिन सकिन्छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले एकजना व्यापारीको गोदाममा छापा मारेर भन्सार नतिरी ल्याइएका केही सामान बरामद गरेको थियो। तर बरामद सामान कानुनी प्रक्रियाअनुसार भन्सार कार्यालयमा बुझाउनुपर्नेमा उक्त व्यापारीसँग डेढ लाख रुपैयाँ लिएर सामान छाडिएको आरोप सार्वजनिक भएको छ।
यो विषय एसपी पवनकुमार भट्टराईसम्म पुगेपछि उनले छानबिन समिति गठन गरे। समितिले गरेको छानबिनका क्रममा प्रहरी निरीक्षक एकनाथ भट्टराई र डीएसपी राजु कार्कीको मिलेमतोमा उक्त सामान छाडिएको तथ्य फेला परेको बताइएको छ। तर विडम्बना, छानबिन समितिले प्रतिवेदन बुझाएको भए पनि अहिलेसम्म कारबाही प्रक्रिया अघि बढेको छैन।
यदि घटनामा प्रहरी अधिकारीहरूको संलग्नता पुष्टि हुने आधारसहित प्रतिवेदन आएको हो भने कारबाही किन रोकियो ? कारबाही नगर्ने हो भने छानबिन समिति किन बनाइयो ? समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगर्नुको कारण के हो ? डेढ लाख रुपैयाँको यो प्रकरणलाई सामान्य घटनाका रूपमा लिएर गुपचुप पार्न खोजिएको त होइन ? यी प्रश्नको जवाफ जिल्ला प्रहरी कार्यालयले दिनुपर्ने देखिन्छ।
डीएसपी राजु कार्कीको विगत पनि विवादरहित छैन। उनी रौतहटमा कार्यरत रहँदा समेत विवादित र बदनाम प्रहरी अधिकृतका रूपमा चर्चामा रहेको बताइन्छ। पर्सा आएपछि पनि हटाइएका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नाम भजाउँदै हिँड्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ। कार्की थर जोडिएकै कारण संगठनभित्र आफ्नो पहुँच र प्रभाव देखाउने गरेको चर्चा प्रहरी वृत्तमा हुने गरेको छ। अहिले डेढ लाख रुपैयाँ घुस प्रकरणलाई गुपचुप पार्ने प्रयास भइरहेको आरोपले प्रहरी नेतृत्वको निष्पक्षतामाथि थप प्रश्न उठाएको छ।
पर्सा प्रहरीभित्र अर्को गम्भीर आरोप मातहतका निकायमा सिपाहीदेखि प्रहरी सहायक निरीक्षक (सई) सम्मको पोस्टिङ तथा जिम्मेवारीमा रकम बुझाउनुपर्ने अवस्था रहेको भन्ने छ। एसपीले रकम नलिने हो भने यस्तो रकम कसले उठाइरहेको छ ? प्रहरी कर्मचारीको सरुवा, पोस्टिङ र जिम्मेवारीका नाममा हुने भनिएको आर्थिक कारोबारको निष्पक्ष छानबिन गर्ने हो भने वास्तविकता बाहिर आउन सक्छ। तर यस विषयमा पनि अहिलेसम्म गम्भीर छानबिन भएको देखिँदैन।
प्रहरी संगठनमा लेखापालको जिम्मेवारी आर्थिक हिसाबकिताब र प्रशासनिक कामसँग सम्बन्धित हुन्छ। तर लेखापाललाई नै घुमुवा बनाएर रकम असुलीमा परिचालन गरिएको आरोप सामान्य विषय होइन। पर्सामा यस्तै गतिविधि हुँदै आएको दाबी गरिएको छ।वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत लेखापाल सई राजन खड्का अहिले जिल्ला प्रहरी कार्यालय पर्साको घुमुवाका रूपमा परिचालित रहेको बताइएको छ। उनलाई यो जिम्मेवारी दिलाउन प्रहरी निरीक्षक आशुतोष शाहीको महत्वपूर्ण भूमिका रहेको आरोप छ। शाहीलाई एसपी भट्टराईले विश्वास गरेर एक्लो काजमा पर्सा ल्याएका थिए। उनकै सिफारिसमा एसपी भट्टराईले सई खड्कालाई घुमुवाका रूपमा परिचालन गरेको बताइन्छ।
सई खड्काको कथित असुली धन्दा र गतिविधिबारे प्रहरी महानिरीक्षकको सचिवालय मातहत रहेको उजुरी छानबिन संयन्त्रमा दर्जनौँ उजुरी परेको दाबी छ। तर ती उजुरीमाथि अहिलेसम्म प्रभावकारी छानबिन भएको छैन। उजुरीमाथि छानबिन हुन नदिन भित्रभित्रै सेटिङ मिलाइएको आरोपसमेत प्रहरी वृत्तमा उठ्ने गरेको छ।केरकारमा कार्यरत रहँदा भएको भनिएको ’रेष्टुरेन्ट काण्ड’ का कारण सई खड्का प्रहरी संगठनभित्र पहिले नै चर्चामा आएका व्यक्ति हुन्। चितवनमा घुमुवा हुँदा पनि उनी विवादित रहेको आरोप लाग्दै आएको छ। चितवनमा रहँदा भएका गतिविधि र त्यहाँको सम्बन्धकै कारण उनीविरुद्ध दर्जनौँ उजुरी परेको बताइए पनि ती उजुरीमाथि छानबिन नहुनुले प्रहरीको आन्तरिक उजुरी संयन्त्रमाथि नै प्रश्न खडा गरेको छ।
सई राजन खड्का सम्मिलित भनिएको घुमुवा टोलीमा बारा दरबन्दी भएर पनि आफ्नो दरबन्दीमा नगई पर्सामै बस्न सफल सहायक हवल्दार सरोज खड्का तथा प्रहरी जवानहरू सुनिल साह, एकरामुल अन्सारी, शिव नारायण चौधरी, अजय यादव र गंगा मगर रहेको बताइएको छ।यी कर्मचारीको वास्तविक जिम्मेवारी के हो ? उनीहरूलाई कसले परिचालन गरिरहेको छ ? घुमुवाका नाममा व्यापारी, तस्कर र अन्य व्यवसायीसँग रकम असुली भइरहेको छ भने त्यसको हिसाबकिताब कसले राख्छ ? उनीहरूको गतिविधिबारे जिल्ला प्रहरी नेतृत्व अनभिज्ञ छ कि जानकारी हुँदाहुँदै पनि मौन बसेको छ ? यी विषयमा संगठनभित्रैबाट जवाफ खोजिनु आवश्यक छ।
एसपी पवनकुमार भट्टराईले व्यक्तिगत रूपमा आर्थिक चलखेल नगरेको अवस्था हो भने पनि उनको कमान्डमा रहेका कर्मचारीबाट हुने भनिएको अनियमितता रोक्ने जिम्मेवारीबाट उनी अलग हुन सक्दैनन्। नेतृत्वको इमानदारिता मातहतका कर्मचारीको गतिविधि नियन्त्रण गर्न सक्ने क्षमताबाट पनि मापन हुन्छ।अब नयाँ प्रहरी महानिरीक्षकले पर्सा प्रहरीमा उठेका यी गम्भीर विषयलाई जिल्लास्तरको सामान्य विवादका रूपमा मात्रै नलिई केन्द्रबाटै निष्पक्ष छानबिन गराउने हो कि ? डेढ लाख रुपैयाँको कथित घुस प्रकरण, सिपाहीदेखि सईसम्मको पोस्टिङमा रकमको आरोप, लेखापाललाई घुमुवा बनाएर परिचालन गरिएको विषय र दर्जनौँ उजुरीमाथि छानबिन नहुनुको वास्तविकता सार्वजनिक हुनुपर्छ। प्रहरी संगठनको साख जोगाउने हो भने आरोपितलाई संरक्षण होइन, प्रमाणका आधारमा कारबाही गर्नुपर्छ।

सम्बन्धित समाचार