सरकार आश्वासन दिएको दियै बक्यौता बढेको बढ्यै

12.1k Shares

काठमाडौं । सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने ४० अर्बभन्दा बढी रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता र आश्वासन पटकपटक दिए पनि बक्यौता भने बढेको बढ्यै छ ।

गत वर्षको पुसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गत असारमा बनेको केपी शर्मा ओलीको नयाँ सरकार अनि दसैंअगाडि नै भुक्तानी दिने भनेर सोही सरकारले भने पनि भुक्तानी भने हुन सकेको छैन ।

सरकारले भुक्तानी दिने भनेर बजेट निकासा गरे पनि कर्मचारीहरूले बिलबिजक नमिलेकोलगायतका बहाना बनाउँदै भुक्तानी नदिने गरेको व्यवसायीहरूको गुनासो छ । एक निर्माण व्यवसायीले आर्थिक नजराना लिनकै लागि कर्मचारीले भाँजो हाल्ने गरेको आरोप लगाए ।

आश्वासन र प्रतिबद्धता जनाउने क्रममा गत हप्ता भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता चाँडै हुने र शनिबार अर्थमन्त्री विष्णु पौडेलले पनि चाँडै नै बक्यौता निकासा हुने बताए । तर, निर्माण व्यवसायीहरू भने सरकारको प्रतिबद्धता र आश्वासनप्रति विश्वस्त हुन सकेका छैनन् ।

भौतिक पूर्वाधारमन्त्री दाहालले ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको र १५ दिनभित्र भुक्तानी हुने जनाएको १ हप्तापछि अर्थमन्त्री पौडेलले शुक्रबारसम्ममा भुक्तानी हुने बताएपछि केही निर्माण व्यवसायीहरू भने उत्साहित भएका छन् ।

भौतिक पूर्वाधार यातायात मन्त्रालयका अनुसार सो मन्त्रालयको मात्रै ५ अर्ब ६६ करोड रुपैयाँ बक्यौता रहेको छ । सो बक्यौतामध्ये अब ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी चाँडै हुने आश्वासन दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्माले गत वर्ष पनि यसरी नै आश्वासन पाएको र अघिल्लो आर्थिक वर्षकै बक्यौता बाँकी रहेको गुनासो गरे ।

उनका अनुसार गत असार मसान्तमै काम सम्पन्न भएर पनि ६ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको छ । आयोजनाको म्याद समाप्त भएकाले भेरिएसन स्वीकृत हुन, बिल बन्न नसकेको, म्याद समाप्त भएको लागतका कारण ३५ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पनि उनले बताए ।

भुक्तानी रोकिँदा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दिएको कर्जाको सुविधा निर्माण व्यवसायीले प्राप्त गर्न सकेका छैनन् । निर्माण व्यवसायीले कर्जाको साँवा ब्याज तिर्न नसकेका कारण मंसिर मसान्तसम्म पाएको साँवा र ब्याज तिर्ने समय सकिनै लागेको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार