एकताका लागि प्रयास गरिरहेका एमाले नेताहरु निराश

17.5k Shares

काठमाडौं, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले माधवकुमार नेपालसहित पार्टी एकताको सम्भावना सकिएको बताएपछि एकताका लागि प्रयास गरिरहेका नेताहरु निराश भएका छन् । अब पार्टीलाई फुटबाट जोगाउन नसकिने भन्दै उनीहरुले आफूहरु एमालेमा रहने सम्भावना सकिएको बताएका छन् ।
पहिले नेपाल पक्षमा रहेका नौ जना स्थायी समिति सदस्यसहितका नेताहरु पार्टीलाई फुटबाट जोगाउने भन्दै नेपाललाई छाडेर एमालेमै बसेका थिए । उनीहरुले एकताका लागि ओलीले दस बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र नेपालसहित १४ सांसदमाथि कारबाही फिर्ता हुनुपर्ने सर्त राखेका थिए । नेपाल एमालेमा रहँदा मात्रै एकता सम्भव हुने उनीहरुको भनाइ थियो ।
‘माधव नेपालसहितको एकताको च्याप्टर क्लोज भयो,’ प्रदीप ज्ञवालीले  भने, ‘एमाले विभाजन गर्ने, आफ्नै नेतृत्वको सरकार ढालेर कांग्रेसलाई सरकार बनाउन सहयोग गर्नेसँग मिल्न कसरी सम्भव छ र ?’
एकताका लागि प्रयासरत नेताहरुबीच आइतबार बानेश्वरस्थित अर्याल होटलमा छलफल भएको थियो । उनीहरुले ओलीले नै पार्टी टुक्र्याउन चाहेकाले आफूहरुको प्रयास खेर गएको निष्कर्ष निकालेका छन् ।
‘माधव नेपालसहित १४ नेतामाथिको कारबाही र एकता सँगै हुँदैन,’ छलफलमा सहभागी एक स्थायी समिति सदस्यले  भने, ‘ओलीजीले माधव नेपालबाहेकको एकता चाहेको बुझियो । त्यो भनेको पार्टी टुक्रियोस् भन्ने हो, १४ नेताको कारबाही फिर्ता नभए एमाले एक रहँदैन ।’
सांसद झपट रावलले अध्यक्ष केपी ओलीले सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरेकाले समस्या भड्किएको बताए । ‘अध्यक्ष केपी ओलीले सहमति कार्यान्वयनमा चासो देखाउनुभएको छैन,’ रावलले भने, ‘उहाँ प्रतिशोधपूर्ण रुपमा लाग्नुभयो । त्यसले समस्या समाधान गर्ने भन्दा भड्कायो ।’
‘ओलीले पिलो निचोरिए पनि खिल बाँकी रहेको भनेर केही नेतासँग भन्नुभएको हामीले सुन्यौँ,’ उनले भने, ‘त्यसको अर्थ खोज्दैछौँ, यदि उहाँलाई हामी खिल नै हो भन्ने परेको भए, त्यो खिल राख्नु भएन, ठण्डा दिमागले सोच्दैछौँ ।’
माधव नेपालले भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। आयोगले निवेदनको सनाखत गर्न उनीहरुलाई बुधबार बोलाएको छ। आयोग स्रोतका अनुसार त्यही दिन दल दर्ताको प्रमाणपत्र दिने सम्भावना छ ।
त्यही भएर ओली र नेपाल दुवै पक्षमा नखुलेका नेताहरुले विभाजन रोक्ने अन्तिम प्रयास भन्दै एकताका लागि बल गरेका थिए ।  तर, अब आफूहरु नेपाल पक्षमा खुल्ने वातावरण बन्दै गएको उनीहरु बताउँछन् ।

सम्बन्धित समाचार