आज गाईजात्रा

22.3k Shares

काठमाडौं, भदौ ७ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाइन्छन् ।

गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा पोखरामा प्राय नेवारी समुदाय भएका वस्तिहरुमा धुमधामका साथ यो पर्व मनाउने प्रचलन रहेकोछ । यो बर्ष जारी महामारीका कारण पहिलेकै अवस्थामा जात्रा निकाल्ने अवस्था भने देखिँदैन ।

कोरोनाको बढ्दो संक्रमणका कारण यो बर्ष उपत्यकामा मनाईदै आएका सास्कृतीक पर्व तथा जात्राहरु सम्झानामा मात्रै रहेका छन् । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजकि विदा दिईएको छ ।
गाईजात्रालाई लक्ष्य गरी हास्यव्यंग्य कलाकारले मुलुकको राजनीति तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक प्रस्तुति युट्युबलगायत अन्य सामाजिक सञ्जालमा हालिरहेका छन् । नाटकले देशको पछिल्लो अवस्थाप्रति तीखो व्यंग्य प्रहार गरेको छ ।

सम्बन्धित समाचार