कांग्रेस अब कता ?

18.8k Shares

काठमाडौं । सत्ताबाट हटेर प्रमुख प्रतिपक्षी बनेको छ नेपाली काँग्रेस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएसँगै काँग्रेस प्रतिपक्षी बनेको हो । प्रचण्डले काँग्रेसले शान्ति सम्झौताको भन्दा विपरित लाइन लिन खोजेको आरोप लगाएका छन् यतिबेला । वास्तवमा काँग्रेस प्रचण्डको लाइनमा २०६३ सालयता हिँडिरहेको छ । त्यो लाइन भनेको धर्मनीरपेक्ष, गणतन्त्रदेखि संघीयता र समानुपातिक निर्वाचन प्रणाली नै हो । यो लाइन प्रचण्डकै हो ।
काँग्रेसभित्र धर्मनीरपेक्ष विरोधी धार बलियो हुँदै गएको छ । त्यसलाई प्रचण्डले रुचाएका छैनन् । उनी काँग्रेस आफ्नै पथमा बढोस् भन्ने चाहन्छन् । विस्तारै काँग्रेस प्रचण्डपथमा हिंड्न नसक्ने गरी नयाँ धार खोजिरहेको छ । उसको धार स्पष्ट भने छैन । काँग्रेसले धर्मनीरपेक्षका अलावा कतिपय शासकीय प्रणालीमा आफ्नो धारणा बदल्न सक्छ । त्यो बदलिने छाँटकाँट घटनाक्रमले देखाइरहेको छ । 
सत्ताबाट हटेपछि काँग्रेसभित्र चिन्ता र आक्रोश दुवै देखिएको छ । यसको उदाहरण बनेका छन् प्रभावशाली नेता कृष्णप्रसाद सिटौला । उनी यसै हप्ताको एकाविहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे । उनको साथमा थिए काँग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक । आधा घन्टा भएको भेटमा सिटौलाले प्रचण्डसँग गठबन्धन तोड्नुको कारणबारे सोधेका थिए । उनले विगतमा किन झुट बोलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी नभइरहेको भनेको समेत सोधेका थिए । प्रचण्डलाई झुट र पटक पटक बेइमानी गरेको भनेपछि केही बेर तनाव भएको थियो । शान्ति सम्झौता गर्दाको अप्ठ्यारा समेत सिटौलाले बताउँदै आफ्नो योगदान भुलेको समेत बताए । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा रोक्दाको जस्तै पश्चाताप फेरि गर्नुपर्ने उनको भनाई थियो । प्रचण्डले भने काँग्रेसबाट राष्ट्रिय सभा चुनावमा धोका भएको लगायतका विषय राखेका थिए । सिटौलाले आफूलाई राष्ट्रिय सभाको अध्यक्षमा रोक्न खोजिएको भन्दै त्यसको जवाफ उचित समयमा दिने चेतावनी समेत दिएका थिए । आधा घन्टाको भेटमा सिटौला निकै आक्रोशित देखिएका थिए । उनले प्रचण्डले विगत नबिर्सन समेत भने । प्रचण्डकै कारण अब प्राप्त उपलब्धि खतरामा पर्ने उनको भनाई थियो । 

सम्बन्धित समाचार