काठमाडौं । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गर्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रश्चाताप गर्दै निवेदन फिर्ता लिने घोषणा गरेका छन् । वरिष्ठ अधिवक्तासमेत रहेका बारअध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसमा प्रधानन्यायाधीशले ‘लेनदेन’ गरेको आरोप लगाएका थिए ।
त्यसपछि यही १४ असोजमा घिमिरेविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदनकै आधारमा सो मुद्दा दर्ता भएको छ । यसको सुनुवाइ गर्न १ कात्तिकका लागि पेसी पनि तोकिएको छ ।
मध्यराति सामाजिक सञ्जालमा स्टाटस लेख्दै उपरजिस्ट्रार घिमिरेले बारअध्यक्ष गोपालकृृष्णविरुद्ध अवहेलना मुद्दा दर्ता गरेकामा पश्चाताप गर्दै उनले आफू कसैको प्यादा बन्न नसक्ने बताउँदै निवेदन फिर्ताका लागि औपचारिक निवेदन दिने बताएका छन् । आफ्नो परिवार सबै प्रजातन्त्रको पक्षमा लडेको र जनताको आवाजका रूपमा रहेको नेपाल बारको विपक्षमा उभिन नसक्ने उनले जनाएका छन् ।
‘म हिजोदेखि निदाउन सकेको छैन, जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैं यसकै लडाइँ लड्नुभयो, म कसैको प्यादा बन्न चाहिनँ’, उनले लेखेका छन्, ‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो, त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।’ अब अदालत खुल्नासाथ आफ्ना भनाइसहित औपचारिक निवेदन दिने उनले उल्लेख गरेका छन् । अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता भएपछि बारले संस्थागत रूपमा मुद्दा लड्ने निर्णय गरिसकेको छ ।
न्यायपरिषद् नियमावलीको संशोधनविरुद्ध बारले निरन्तर आन्दोलन गर्दै आएको छ । गत शुक्रबार बारको विरोधका बाबजुद न्यायपरिषद्का दुई जना न्यायाधीश सिफारिस गरेपछि बारका अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध अभिव्यक्ति दिएका थिए । प्रधानन्यायाधीश श्रेष्ठकै दबाबमा अवहेलना मुद्दा दर्ता भएको थियो । प्रधानन्यायाधीश श्रेष्ठले बारअध्यक्ष घिमिरेलाई व्यक्तिगत रिसिइबी साँध्नका लागि अदालतको अवहेलनाको अस्त्र फ्याँकेका थिए । प्रधानन्यायाधीशविरुद्ध बोल्दा अदालतको अवहेलना मुद्दा लाग्छ भन्ने नजिर स्थापित गर्नकै लागि प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चका उपरजिस्ट्रारलाई दबाब दिएर अबहेलनासम्बन्धी मुद्दाको प्रतिवेदन पेस गर्न दबाब दिएका थिए । जुन, कुरा सर्वोच्चका उपरजिस्ट्रारले मध्यराति सामाजिक सञ्जालमार्फत् दिएको सन्देशले प्रस्ट पारेको छ । सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेलाई प्रधानन्यायाधीश श्रेष्ठले चर्को दबाब दिएपछि मात्रै अवहेलनासम्बन्धी प्रतिवेदन तयार भएको थियो । गत सोमबार नै अवहेलनासम्बन्धी प्रतिवेदन तयार भएर मुद्दा दर्ता भए पनि मंगलबार मात्रै रुजु भएर मुद्दा प्रक्रिया अगाडि बढाइएको थियो । आजको राजधानी दैनिकबाट