काठमाडौं । तालिबानले नेटो सैनिक र अफगानिस्तान सरकारसित काम गरिसकेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ । संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा यस्तो उल्लेख गरिएको हो ।
उक्त रिपोर्टअनुसार तालिबान लडाकुहरू घरघरमा गएर तलासी गरिरहेका छन् । उनीहरूका परिवारलाई धम्की दिइरहेका छन् ।
अर्कोतर्फ, तालिबान नेतृत्वले भने कुनै बदला नलिइने भन्दै अफगानिस्तानका नागरिकलाई आश्वस्त पार्ने प्रयास गरिरहेको छ । अफगानिस्तानमाथि कब्जा गरेसँगै तालिबान नेतृत्वले स्थानीयलाई यस्तो भरोसा दिलाउन कोसिस गरिरहेको छ । तर, मानिसमा डर ।
उक्त रिपोर्ट आरएचआईपीटीओ नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसले तयार पारेको हो । यसले राष्ट्रसंघलाई गोप्य जानकारी प्रदान गर्ने गर्छ ।
यसका प्रमुख क्रिस्चियन नेलेमनले तालिबानले ठूलो संख्यामा मानिसलाई निसाना बनाएको र उनीहरूमाथि खतरा उत्पन्न भएको बीबीसीलाई बताएका छन् ।
उनीहरूले आत्मसमर्पण नगरेमा पक्राउ गरिने र सजाय दिइने तालिबानले लेखेर दिएको नेलेमनको भनाइ छ ।
उनका अनुसार तालिबानको ‘कालोसूची’मा रहेका हरेक व्यक्ति खतरामा छन् । ठूलो संख्यामा मानिसलाई मृत्युको सजाय दिइन सक्छ ।