गाजामा युद्ध शुरू भएदेखि अमेरिकाले इजरायललाई २१ अर्ब ७० करोड डलरको सैन्य सहायता दिएको खुलासा

7.3k Shares

बिश्व। गाजामा युद्ध शुरू भएदेखि अमेरिकाले इजरायललाई कम्तीमा २१ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता दिएको एक रिपोर्टले देखाएको छ ।

सन् २०२३ को अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणको दोस्रो वार्षिकोत्सवमा आज प्रकाशित रिपोर्ट अनुसार बाइडेन र ट्रम्प प्रशासनको नेतृत्वमा रहेको अमेरिकाले दुई वर्षअघि गाजा युद्ध शुरू भएदेखि इजरायललाई २१ अर्ब डलरभन्दा धेरैको सैन्य सहयोग प्रदान गरेको छ ।

ब्राउन विश्वविद्यालयको वाटसन स्कूल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्सको ‘कस्ट्स अफ वार प्रोजेक्ट’ द्वारा प्रकाशित अर्को अध्ययनले पनि अमेरिकाले विगत दुई वर्षमा मध्यपूर्वमा सुरक्षा सहायता र सञ्चालनमा झन्डै १० अर्ब डलरभन्दा धेरै खर्च गरेको बताएको अङ्ग्रेजी भाषाको दैनिक पत्रिका ‘द इकोनोमिक्स टाइम्स’ ले जनाएको छ ।

सन् २०२३ को अक्टोबरदेखि इजरायललाई प्रदान गरिएको सैन्य सहायताको रकमको बारेमा विदेश विभागले तत्काल कुनै टिप्पणी गरेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न दबाव दिँदै गर्दा सार्वजनिक रूपमा उपलब्ध सूचनाहरूमा आधारित यी प्रतिवेदनहरू सार्वजनिक गरिएका खबरमा उल्लेख छ ।

इजरायलले पनि समर्थन गरेको भनिएको अमेरिकी योजनाका केही तत्त्वहरूलाई हमासले स्वीकार गरेपछि इजरायली र हमासका अधिकारीहरूले यस हप्ता इजिप्टमा अप्रत्यक्ष वार्ता शुरू गरेका छन् ।

इजरायलको तीव्र आलोचना गर्ने ती प्रतिवेदनहरूमा अमेरिकी सहयोगविना इजरायलले गाजामा हमासविरुद्धको आफ्नो संयुक्त अभियानलाई निरन्तरता दिन सक्षम नहुने उल्लेख छ । विभिन्न द्विपक्षीय सम्झौता अन्तर्गत इजरायलका लागि भविष्यमा १०औं अर्ब डलरको कोषको प्रक्षेपण गरिएको कुरा पनि प्रतिवेदनले भनेको छ ।

सम्बन्धित समाचार