काठमाडौँ । किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निकोसेराबाट मङ्गलबार पक्राउ गरी किर्ते तथा विद्युतीय अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरेको छ ।
प्रसाईंले सोमबार सामाजिक सञ्जालमार्फत एक शङ्कास्पद भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियास्थित ‘स्मार्ट एक्जिएटा टेलिकम कम्पनी’ मा ३२ अर्ब नेपाली रुपियाँ अवैध लगानी गरेको भनी केही शङ्कास्पद कागजात सार्वजनिक गरेपछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो ।
ब्युरोको प्रारम्भिक अनुसन्धानमा नै प्रसाईंले सार्वजनिक गरेका विवरण र सन्देश भ्रम फैलाउने उद्देश्यले किर्ते कागजपत्र तयार गरेको पाइएपछि अनुसन्धानका लागि सिआइबीले प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रसाईंले सार्वजनिक गरेका विवरण र दाबी गरिएका विषय केही सञ्चार माध्यममा समेत सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको र प्रारम्भमै ती कागजपत्र किर्ते रहेको खुलेपछि नियन्त्रणमा लिएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताउनुभयो । थापाले भन्नुभयो, “प्रसाईंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका कागजपत्र नै किर्ते, भ्रमपूर्ण र शङ्कास्पद रहेको देखिएपछि प्रसाईंलाई नियन्त्रणमै लिएर अनुसन्धान सुरु गरिएको हो ।” थापाले प्रसाईंमाथि किर्ते तथा विद्युतीय अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको र अन्य कसुर भेटिए त्यसमा पनि अनुसन्धान हुने जानकारी दिनुभयो ।
प्रसाईंले सार्वजनिक गरेका विवरणमा कम्बोडियाको उक्त टेलिकममा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर बराबरको लगानी गरेको देखाइएको छ । ती विवरण र सार्वजनिक गरिएका कागजपत्र नै भ्रम फैलाउने उद्देश्यले तयार गरिएको पाइएको र प्रसाईंले सार्वजनिक गरेका विवरणमा कुनै सत्यता नरहेको पनि सिआइबीले दाबी गरेको छ ।
सिआइबीको हिरासतमा रहनुभएका प्रसाईंलाई मङ्गलबार नै भोटाहिटीस्थित साइबर ब्युरोले पनि अनुसन्धान सुरु गरेको छ । साइबर ब्युरोले सुरु गरेको प्रारम्भिक अनुसन्धानमा समेत प्रसाईंले सार्वजनिक गरेका कागजपत्रमा प्रधानमन्त्री ओलीको हस्ताक्षर नै किर्ते गरेको र विवणहरू नै फर्जी रहेको खुलेको छ । प्रधानमन्त्री ओलीको नागरिकतामा अङ्ग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली उल्लेख छ । प्रसाईंले सार्वजनिक गरेको किर्ते नागरिकतामा भने प्रधानमन्त्री ओलीको अङ्ग्रेजी रोमन नाम नै खड्कप्रसाद ओली उल्लेख गरी फर्जी बनाइएको पाइएको छ । प्रसाईंले सार्वजनिक गरेका सबै विवरण फर्जी र बोलेका विषय भ्रमपूर्ण र शङ्कास्पद भेटिएपछि ती विवरण तयार भएको स्थान (डकुमेन्ट ओरिजिन) कहाँ र कसले तयार गरेको हो भन्नेबारे साइबर ब्युरोले अनुसन्धान गरिरहेको पनि सिआइबीले जनाएको छ । आजको गोरखापत्र दैनिकबाट