लेखनाथ । पोखराको नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको कार्यालयमा अहिले ताला लागेको छ । २०६३ मा खुलेको यो सहकारीका गतिविधि र छानबिन प्रतिवेदनहरूले स्थापनादेखि नै यसका सञ्चालकहरूले योजनाबद्ध ढङ्गले ठगी गरेको पुष्टि गर्छन् ।
सूर्यदर्शनमा सर्वसाधारणको बचत र सेयर गरी एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपियाँ ठगी भएको प्रहरी प्रतिवेदन छ । ज्ञानबहादुर बम्जनको सव्रिmयतामा खुलेको सूर्यदर्शनले सुरुमा स्थानीयवासीलाई नै सञ्चालक समितिमा राखेको थियो । गोरखा भूपूहरूलाई समितिमा राखेर रकम सङ्कलन गरेपछि योजनाबद्ध रूपमा उनीहरूलाई समितिबाट हटाइयो ।
अहिले पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहेका देवबहादुर नेपालीसमेत दोस्रो कार्यकालमा सूर्यदर्शनको उपाध्यक्ष हुनुहुन्थ्यो । नेपालीले सूर्यदर्शनको नेतृत्व नपाएपछि आफ्नै अग्रसरतामा पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी स्थापना गर्नुभएको थियो ।
चार वर्षपछि ओखलढुङ्गाका गीतेन्द्रबाबु (जिबी) राईको सूर्यदर्शनमा प्रवेश भयो । पछि सहकारीमा रामेछापका कैलाशकुमार दर्लामी र पूर्वउपराष्ट्रपतिका छोरा दिपेशकुमार पुन जोडिएको देखिन्छ । पोखरा महानगर मात्र कार्यक्षेत्र भएको सहकारी खोली कास्कीबाहिरका पदाधिकारी राखिनु ठगीकै अर्काे कडी हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्मा सूर्यदर्शनमा ठगीका अनेक रूप रहेको र विभिन्न कोणबाट अनुसन्धान भएको बताउनुहुन्छ । यो सहकारी ठगी प्रकरणका अनुसन्धान अधिकारीसमेत रहनुभएका शर्माले पूरक जाहेरीसमेत चाँडै पेस गर्ने तयारी गरेको उल्लेख गर्नुभयो ।
आफ्नो जिम्मामा आएपछि जिबीले रकम जम्मा गर्न र दुरुपयोग गर्न अनेक तरिका प्रयोग गरेको देखिन्छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ को साँदी गाउँको सामान्य किसान परिवारका जिबीको पछिल्लो समय पोखरादेखि काठमाडौँसमेत हेलिकोप्टरमा आउजाउ हुन्थ्यो ।
शुक्रबार जिल्ला अदालत कास्कीले रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ग¥यो । अहिले जिबीका दुई दाइ देवेन्द्रबाबु र अनन्तबाबु र साढुदाइ दीपक लामाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिबीले परिवार, आफन्त मात्र नभएर पे्रमिकाको नामबाट समेत सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
जिबी ग्रुप एन्ड कम्पनीकी कर्मचारी लीला पछाईका नाममा पोखरा महानगरमा दुई वटा घर देखिएका छन् । पछाईको खातामा रकम गएको र घर किनिएको देखिएपछि कास्की प्रहरीले उहाँलाई पनि पक्राउ गरेको छ ।
जिबीले योजनाबद्ध ठगीलाई अघि बढाउन राजनीतिक पहुँचसमेत प्रयोग गरेको देखिन्छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष हुनुहुन्छ । दर्लामी नेकपा (माओवादी केन्द्र) का पालिका अध्यक्षसमेत हुनुहुन्थ्यो । सूर्यदर्शनले २० प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर रकम सङ्कलन गरेको थियो ।
यही प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका शिवबहादुर गुरुङ नेकपा (एमाले) को युवा सङ्घका केन्द्रीय उपमहासचिव हुनुहुन्छ । सुरुवातमा नेटवर्किङ व्यवसायमा आबद्ध जिबीको परिवार यो व्यवसायमा प्रतिबन्ध लागेपछि देशैभर सहकारी खोली रकम ठगी गर्न योजनाबद्ध रूपमा लागेको देखिन्छ । आजको गोरखापत्र दैनिकबाट