दसैँ मनाउन घर : ६ दिनमा तीन लाख ६३ हजारले काठमाडौं छाडे

14.8k Shares

काठमाडौं । दसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेको छ । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । 

दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार १६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार ४ ६५ जना काठमाडौंबाट बाहिरिएका छन् । 

दसैँका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम हुने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।

बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दसैँको समयमा पनि घर जान नपाएर काठमाडौं उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौं बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताए ।  

उनले भने, “बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौंमै छुटेका छन् । नरमाइलो लागेको छ ।” 

दसैँका लागि भन्दै अहिले यात्रु महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् ।

सम्बन्धित समाचार