काठमाडौँ । असोज ११ र १२ गतेसहित वर्षायाममा भीषण वर्षा हुँदा पनि कपनमा गत वर्षजस्तो बाढीले विध्वंस मच्चाएन । अघिल्ला वर्षमा सडक नै खहरे खोलामा परिणत हुने सरस्वतीनगर पनि बाढीको समस्यामा परेन ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ स्थित कपन र काठमाडौँ महानगरपालिका वडा नं. ६ मा पर्ने सरस्वतीनगर क्षेत्रको पानीको मूल स्रोत चखुँचाखोला खुला आकाशमुनि बग्न थालेपछि कपन यो वर्ष सुरक्षित देखियो । मुख्यतः सरस्वतीनगर र बुढानीलकण्ठ वडा नं. १० सुरक्षित भएका छन् तर काठमाडौँ उपत्यका विकास प्राधिकरणले जगडोल पार्क, आनीगुम्बा हुँदै बुढानीलकण्ठका १०, ११ र १२ स्थित यज्ञमती खोलामा पक्की पर्खाल नाला (बक्स कल्भर्ट) निर्माण गरिरहँदा त्यस क्षेत्रका बासिन्दाले केही हदसम्म बाढीमा समस्या बेहोरेका छन् । स्थानीय तिलक श्रेष्ठका अनुसार खोला पुरिएर कल्भर्ट निर्माण गरेको क्षेत्र जलमग्न भयो ।
काठमाडौँ महानगरपालिका वडा नं. ६ र बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ कपनको पानीको स्रोत यज्ञमती खोलालाई पुर्न पक्की बक्स कल्भर्ट निर्माण भइरहँदा बाढी त्रासदी उत्तिकै छ ।
हामी नै पीडित : भट्टराई
पक्की पर्खाल कुलो निर्माण कार्य बुधबारसम्ममा बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईको घरअगाडि पुगेको छ । पक्की कल्भर्ट निर्माण गरिएको ठाउँमा पनि भारी वर्षा हुँदा कल्भर्टमाथि भेल बग्छ तर वडाध्यक्ष भट्टराईले कल्भर्टले खोला पुर्ने काम सकिएपछि मात्रै बाढीको समस्या समाधान हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “तत्कालीन कपन गाउँ विकास समितिको मापदण्ड अनुसार तीन/चार मिटर छाडेर घर बनाएका हौँ । हामीले खोला मिचेको होइन । अहिले नयाँ मापदण्ड आयो, अनि हामीले के गर्ने ? हामी आफैँ पीडित हौँ । त्यसैले कल्भर्ट बनाउनुको विकल्प छैन ।” कपनतर्फ वडाध्यक्ष भट्टराईको घरदेखि मिलनचोकसम्म बाढीले समस्या दिने गरेको छ । स्थानीय कृष्ण सापकोटाले जगडोल पार्क हुँदै बगेर आउने यज्ञमती खोलाले आनीगुम्बासहित आसपासका क्षेत्रमा सामान्य डुबान भएको बताउनुभयो ।
उहाँले वडाध्यक्ष भट्टराईको घरअगाडिको भागदेखि मिलन चोकसम्म खोलाको बहाब क्षेत्रका सबैजसो घरमा पानी पसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्की पर्खाल बनाएर पानी सिधै धोबीखोलामा पुर्याउने नियतले काम भइरहेको छ । यसो गर्दा कपनको भुइँको पानी सुक्छ र अस्ति ११ र १२ गतेजस्तो पानी दोहोरियो भने कपनमा कल्भर्ट रहला तर घरहरूमा कस्तो क्षति पुग्छ केही भन्न सकिन्न ।” तर चखुँचाखोला आसपासका नागरिकले यस पटक अघिल्ला वर्षमा जस्तो बाढीको प्रताडना भोग्नु परेन । कपनको मिलनचोकबाट धोबीखोलासम्म बग्ने चखुँचाखोला खुला आकाशमुनि बग्न थालेपछि काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिका वडा नं. १० तर्फ बाढीले क्षति नगरेको हो ।
सरस्वतीनगर सुधार सङ्घका अध्यक्ष पेसल पहाडीले भन्नुभयो, “सधैँ बाढीले ताण्डव मच्चाउँथ्यो । यसपालि ठुलो पानी पर्दा निकास नभएर खुट्टा भिज्ने गरी मात्रै जलमग्न भयो । पोहोरजस्तो बाढीको समस्या झेल्नु परेन ।” आजको गोरखापत्र दैनिकबाट