किन भुटान जाँदै छन् पूर्वराजा ज्ञानेन्द्र ?

14.5k Shares

काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाह छिमेकी मुलुक भुटान जाने भएका छन्। अविरल वर्षपछि आएको बाढीपहिरोले मुलुक आक्रान्त बनेका बेला प्रधानमन्त्रीसहित मुलुकका जिम्मेवार व्यक्तिहरूको उपस्थिति र सक्रियतालाई लिएर प्रश्न उठिरहेका बेला ज्ञानेन्द्र भने केही दिनका लागि भुटान भ्रमणमा जान लागेका हुन्।

असोज १७ गते भुटान जाने तयारीमा रहेका ज्ञानेन्द्र २० गते स्वदेश फर्कनेछन्। भुटानी राजाको निमन्त्रणमा ज्ञानेन्द्र त्यहाँ जान लागेको स्रोतको दाबी छ। तर उनी निकटले भने भ्रमण निजी भएको जनाएका छन्। ज्ञानेन्द्र भुटान भ्रमणमा जाने तयारीमा रहेको उनका प्रेस सचिव फणिराज पाठकले असोज ११ गते सार्वजनिक गरेका थिए।

जुन कुरा पुराना पत्रकार धु्रवहरि अधिकारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। ‘डा. फणिराज पाठकले ११ असोजमा सार्वजनिक गरेको सूचनामा राजा ज्ञानेन्द्रले आगामी हप्ता भुटानको निजी भ्रमण गर्ने भनेका थिए,’ अधिकारीले लेखेका छन्, ‘एउटा उच्च सूत्रबाट भर्खर सुनियो: प्रस्थान १७ असोज, आगमन २० गते होला।’ अधिकारीले संयोग भन्दै थपेका छन्, ‘भुटानका गद्दीनसीन राजा जिग्मे खेसार वाङ्चुक नेपाललाई आफ्नो जन्मस्थल भनेर चिन्छन्।’

निकटहरूका अनुसार ज्ञानेन्द्र बुहारी हिमानीसहित भुटान जाने तयारीमा थिए। तर हिमानीको स्वास्थ्यमा समस्या आएपछि उनी भ्रमणमा सहभागी नहुने स्रोतहरूको दाबी छ। निजी भनिए पनि ज्ञानेन्द्रको भुटान भ्रमण राजनीतिक रहेको स्रोतको दाबी छ। भुटानी राजामार्फत पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ केही राजनीतिक भेटघाट गर्ने निकट स्रोतको दाबी छ। त्यसक्रममा नेपालको राजनीतिक घटनाक्रमसहितका विभिन्न विषयमा छलफल हुने जनाइएको छ।  

नेपालका राजनीतिक दल र सरकारप्रति जनस्तरबाटै असन्तुष्टि व्यक्त भइरहेका बेला विभिन्न शक्ति केन्द्रले ज्ञानेन्द्रलाई उपयोग गर्न खोजेको विश्लेषण पनि गर्न थालिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले १० वर्षे हिंसात्मक आन्दोलन हुँदै शान्ति प्रक्रियामा आएको माओवादीसमेत राजसंस्थाको पक्षमा रहेको आशययुक्त भनाइ सार्वजनिक गरेका थिए।

दाहालको सचिवालयले भने मिश्रले सामाजिक सञ्जालमा लेखेको उक्त आशयको खण्डन गरिसकेको छ। तर माओवादी अध्यक्ष दाहालले कम्बोडियोको जस्तो शासन व्यवस्थाका विषयमा राप्रपा मात्र होइन, अन्य दलका नेताहरूसँगको भेटमा पनि चर्चा गर्दै आएको स्रोतहरूको दाबी छ। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार