राखेपमा जबसम्म राजनीतिक नियुक्ति हुन्छ, तबसम्म नेपालमा खेलकुदको विकास हु“दैन ः श्रीमान थापामगर

17.6k Shares

खेलकुद विकासका लागि स्थापित राष्ट्रिय खेलकुद परिषद्मा जबसम्म राजनीतिक नियुक्ति भइरहन्छ, तबसम्म नेपालमा खेलकुदको विकास नहुने नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय खेलाडी तथा पूर्व प्रशिक्षक, तेक्वान्दोेका छैटौं डान (ब्ल्याकवेल्ट) समेत रहेका श्रीमान थापामगर बताउँछन् । 
नेपालमा खेलकुद विकासको लागि भनेर स्थापना गरेको राष्ट्रिय खेलकुद परिषद् पछिल्लो समय राजनीतिक कार्यकर्ताको भर्ती केन्द्रका रुपमा परिचित बन्दै गएको छ । राखेपमा राजनीतिक दलका कार्यकर्ताको भर्ती केन्द्रदेखि लिएर ती कार्यकर्ता खेलाडीको नाममा बैदेशिक भ्रमण गराउने थलोको रुपमा विकसित बन्दै गइरहेको छ । सोही कारण पछिल्लो समय नेपालको खेलकुद क्षेत्र डामाडोल अवस्थामा पुगेको हो । 
पछिल्लो समय राखेपले आफ्नै जीवन नै खेलकुद क्षेत्रमा समर्पण गरेका खेलाडी तथा प्रशिक्षकका लागि खासै बजेट निकासा गरेको पाइँदैन भने विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुलाई भर्ती केन्द्र बनाई उनीहरुकै निर्देशनमा बजेटसमेत निकासा गर्ने गरेको छ भने राष्ट्रिय खेलकुद परिषद् राजनीतिक दलको भर्ती केन्द्रको रुपमा परिचित बनेको श्रीमान् थापामगर बताउँछन् ।
झण्डै चार दशक खेलकुद क्षेत्रमै विताएका श्रीमान थापामगर बताउँछन् , ‘नेपालमा खेलकुदको विकास गर्ने हो भने पहिला राष्ट्रिय खेलकुद परिषद् डिजल्व गर्नुपर्छ । खेलकुद क्षेत्रलाई सिधै खेलकुद मन्त्रालयले हेर्नुपर्छ । खेलकुद मन्त्रालय अन्तर्गत नै नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने र बजेट निकासासमेत मन्त्रालयअन्तर्गत नै गर्ने हो भने नेपालमा खेलकुद विकास चाँडो हुनेछ ।’ 
नेपालका अधिकांश खेलाडीहरु आफ्नो सोखका कारण मात्र खेलाडी बनेका छन् । केही मात्र खेलाडीहरु खेलकुद क्षेत्रमा लागि आफ्नो देशलाई विश्वसामु चिनाउने उद्देश्यका साथ लागेका छन् । तर, त्यस्ता खेलाडीलाई राज्यले गनुपर्ने जतिपनि दायित्वहरु छन् ती पुरा गरेको छैन । देशकै लागि खेल्ने खेलाडीका लागि राज्यले दिने गरेको जति पनि सेवा सुविधाहरु छन् त्यो खेलाडीहरुका लागि प्रयाप्त छैन । राज्यले खेलाडीलाई गरेको आर्थिक र अन्य सेवा सुविधाहरु वास्तवमै भन्ने हो भने खेलाडी आफूले दैनिक जीवन यापन गर्नसमेत अपुग हुनेछ भने ती खेलाडीले आफ्ना छोरा—छोरी र परिवारलाई दैनिक जीवन यापनका लागि कसरी पु¥याइरहेका होलान् ? राज्य संचालकहरुले राष्ट्रका गहनाका रुपमा हेरिने खेलाडीलाई खासै महत्व दिइरहेका छैनन् । जबसम्म खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप, राजनीतिक नियुक्ति हुन्छ तबसम्म नेपालको खेलकुद क्षेत्रमा लाग्ने खेलाडीको भविष्य अन्धकार नै रहिरहने श्रीमान् थापामगर बताउँछन् । 
नेपालको खेलकुद क्षेत्रमा ४ दशक विताइसकेका र केही महिना अगाडि मात्र तेक्वान्दोको प्रमुख प्रशिक्षकबाट स्वेच्छिक अवकास लिएका श्रीमान थापामगर भन्छन्, ‘राज्यले दिने सेवा सुविधा निजामति कर्मचारी सरहसमेत दिने गरेको छैन । प्रशिक्षकलाई राज्यले हेर्ने दृष्टिकोण नै असमान र फरक छ । सोही कारण खेलाडीले ढुक्क भएर खेल्ने वातावरण नेपालमा बन्न सकेको छैन । जबसम्म राज्यको नेतृत्व लिने नेताहरुले खेलकुदलाई बुझ्दैनन् तबसम्म खेलकुद क्षेत्रमा लाग्नेको भविष्य सुनिश्चित हुने कुरै छैन । 
चारदशक मार्सल आर्टमा लागेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको तर्फबाट पदक ल्याउन श्रीमान थापामगर सफल बनेका छन् । सोही क्रममा सन् १९९२ मा इन्डियाको आसाममा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वेस्ट फाइटरसहित स्वर्णपदक ल्याउन सफल बनेका थिए थापामगर । त्यस्तै, १९९४ मा दिल्लीमा भएको अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो खेलमा पनि स्वर्ण पदक ल्याएका थिए भने १९९५ मा इन्डियाकै अम्दावाद गुजरातमा भएको तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण पदक ल्याउन सफल बनेका थिए । 
यसैगरी राष्ट्रियस्तरको २०४६ सालमा नेपालगंजमा आयोजित छैटौं राष्ट्रिय मार्सल आर्ट प्रतियोगितामा रजत पदक ल्याउन सफल बनेका थिए भने २०४८ सालमा भएको दोस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक, २०५१ सालमा विरगंजमा भएको तेस्रो राष्ट्रिय प्रतियोगितामा कास्य पदक, २०५३ सालमा हेटौंडामा भएको चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक ल्याउन सफल बनेका थिए । 
त्यस्तै, सहायक प्रशिक्षकको रुपमा आठौं साफ गेममा नेपाललाई १६ विदामा १४ स्वर्ण र दुई रजत पदक ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए थापामगरले । अनुभवी प्रशिक्षकका रुपमा रहेका थापामगरले २००९ सालमा भएको प्रथम एसियाली मार्सलआर्ट प्रतियोगितामा नेपालको टिमको प्रशिक्षकको भूमिका निर्वाह गर्नुका साथै इन्डियाको लखनउमा आयोजित दोस्रो इन्टरनेशनल तेक्वान्दो प्रतियोगितामा नेपालको टिमबाट प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरी नेपाललाई सर्वाधिक पदक दिलाउनुका साथै टिम च्याम्पियन बन्नुका साथै नेपाल प्रथम भएको थियो । 
त्यस्तै, तेह्रौ साग गेममा पनि नेपाली टिमको व्यवस्थापनको जिम्मेवारी पाएका थापामगरले  सफल भूमिका निर्वाह गरी नेपाललाई १२ स्वर्ण, ६ रगत र ११ कास्य गरी २९ पदक ल्याई नेपाललाई प्रथम टिम बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 
अन्तर्राष्ट्रिय कोचको लागि कोरियामा गई प्रशिक्षण लिई लाइसेन्स लिनसमेत सफल बनेका छन् श्रीमान थापामगर । थापामगर हाल नेपालको प्रथम श्रेणीको राष्ट्रिय निर्णायकसमेत छन् ।
थापामगर सुरुमा सोखको र आत्मरक्षाका लागि मार्शलआर्टमा लागेको र पछि व्यवसायिकरुपमा लागेको बताउँछन् । खेलकुदमा लागेपछि सामाजिक प्रतिष्ठा, राष्ट्रिय प्रतिष्ठा, राष्ट्रिय सम्मान पनि पाइयो (पूर्व युवराजबाट नगद २५ हजारसहित सम्मानित) र विभिन्न राजनीतिक दलले सम्मान पाइएको थापामगर बताउँछन् ।

सम्बन्धित समाचार