झ्याप्लेखोलामा मागिरहे गुहार तर....

12.6k Shares

झ्याप्लेखोला । दुई दिनको अविरल घनघोर वर्षापछि गएको बाढीपहिरोको डरलाग्दो प्रतिविम्ब बनेको छ, झ्याप्लेखोला । काठमाडौँ र धादिङको सिमाना झ्याप्लेखोलामा भएको पहिरोमा अहिलेसम्म ३५ जनाको मृत्यु पुष्टि भइसकेको छ । 

चितवनबाट काठमाडौँ आउँदै गरेको बा २ ख १३४५ नम्बरको माइक्रोबस, गोरखाको लापुबेँसीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस यात्रुसहित पहिरोमा पुरिएका छन् । धादिङ प्रहरीका अनुसार आंशिक पुरिएका पर्यटक बसबाट भने घटनाकै बेला यात्रु भागेर बच्न सफल भएका थिए । 

‘गुहार गुहार’ भनिरहे...

शनिबार बिहान करिब ४ बजेको हुँदो हो । झमझम पानी पर्दै थियो । काठमाडौँ–धादिङ सिमानाको झ्याप्ले खोला हुँदै माथिबाट गल्र्यामगुर्लुम पहिरो खस्यो । पहिरो झरेको छेउमै पसल चलाइरहनुभएकी नानु लामाले पहिले त के भो भनेर केही सोच्नै सक्नुभएन । अन्धकारमा ‘बचाउ बचाउ’ भन्दै मानिस चिच्याउन थालेपछि गाडीका बत्ती र टर्चको उज्यालोमा पहिरो गएको देखियो ।

उहाँले भन्नुभयो, “नजिकै रहेको माइक्रोका यात्रुको चिच्याहट पछ्याउँदै अगाडिका यात्रु र हामी मिलेर रगताम्य यात्रु निकाल्यौँ ।” त्यसपछि माथि नागढुङ्गामा रहेका प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । त्योभन्दा तल पसलकै छेउबाट लेदोसहितको भेलपहिरो बग्दै थियो । सडकबाट तल बगाएका बसका यात्रुको चिच्याहटले खोँचमा कोलाहल नै मच्चियो । नानुले भन्नुभयो, “गुहार गुहार...बचाउ बचाउ भन्दै थिए, हामी कसरी जानु त्यो अँध्यारो र भेलमा ?” वरपरका पनि ज्यान बचाउन कोही गाडीबाट उत्रेर सडकैसडक लड्दै उकालो कुदे । कोही रुनकराउन थाले । 

बाटाभरि झरेको पहिरो छल्दै आधा घण्टापछि दुई जना प्रहरी टर्च बोकेर नागढुङ्गाबाट आइपुगे । उनीहरूसँग बचाउन जाने कुनै स्रोत साधन थिएन । त्यसैले लिएर आउँछौँ भनेर फर्किए । बिहान उज्यालो भएपछि मात्र उद्धार टोली आइपुग्यो । 

घटना हुनुअघि शुक्रबार मध्यरातमा नै अलिक माथिबाट सडकमा रुखसहितको पहिरो झरेर बाटो बन्द भएको थियो । त्यही कारण प्रहरीले नागढुङ्गातर्फ सवारी नलैजान र झ्याप्लेखोला आसपास नै रहन भन्ने खबर पठाएको थियो । जस कारण नागढुङ्गाको तल घुमाउनेदेखि नै सवारी जाम भएको थियो । जाम परेकाले माथि घर नगई नानु लामासहितका पसले त्यहीँ बसेका थिए । उहाँले सम्झनुभयो, “यात्रुले खानेकुरा मागेपछि चाउचाउ, बिस्कुट, पानी, जुस बेचिरहेका थियौँ । कोही गाडीबाट ओर्लेर सडकमै सुस्ताउँदै बाटो खुल्ने प्रतीक्षामा थिए । कोही गाडीमै निदाइरहेका थिए ।” त्यसरी बगाएका गाडीमा झ्याप्ले खोलाको पानी सडकबाट तल खोँच जाने ठाउँमै रोकिएको र बढी पसेको उहाँले बताउनुभयो । बिजुलीसमेत नभएकाले पनि जिउँदाले उद्धारको मेसो पाउन नसकेको उहाँले बताउनुभयो । 

सडकमा जाम परेकामा काठमाडौँबाट गएका दुई लाइन र धादिङबाट आइरहेका दुई लाइन गरेर चार लाइन गाडी थिए । घटनापछि साढे ५ बजेसम्म आफूहरू उद्धारमा खटिएको बताउँदै उहाँले त्यसपछि पनि लगातार पहिरो आउन नछाडेपछि स्थानीयमा त्रास छाएको बताउनुभयो । आफ्नो र परिवारको ज्यान बचाउन भाग्नु कि यात्रुको ज्यान बचाउनु भन्ने दोधारमै रात बितेको स्थानीयले बताए । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार