काठमाडौं । ३ असोज संविधान दिवस । संविधान जारी भएको ९ वर्ष बित्यो । नेपालमा २००४ सालमा संवैधानिक विकासको क्रम सुरु भएसँगै संविधान बन्ने क्रम सुरु भयो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सातवटा संविधान पाइसकेको छ, तर नागरिकका समस्या भने ज्यूँका त्यूँ छन् ।
संविधान बनेपछि देशमा राजनीतिक प्रणाली फेरिए पनि शासन गर्ने पात्रको प्रवृत्ति भने फेरिन सकेन । नागरिकले विकास र समृद्धिप्रति आशा र अपेक्षा राखे पनि सुधारको संकेत देखिएन । संविधान जारी हुँदा एउटा पक्ष असन्तुष्ट रह्यो, जसलाई संविधानको अपनत्व लिनेहरूले मिलाएर जान सकेनन् । बरु दीपावली मनाएर पेलेरै अगाडि बढ्ने सोचले काम ग¥यो । पात्र र प्रवृत्ति फेरिएन । व्यक्ति संविधानभन्दा माथि बन्ने प्रयत्न र प्रयास भइरहे । पछिल्लो समय आफैंले बनाएको संविधानलाई संशोधन गर्नुपर्ने मत बढिरहेको छ । नेताहरू आफैंले बनाएको संविधानमाथि खराबी देखिरहेका छन् । एउटा पक्षले संविधानमा खराबी छ भनेर भनिरहँदा उत्कृष्ट भनेका तिनै नेताहरू संविधान संशोधनको बाटोमा आउनुले खराबी छ भन्नेकै बाटोमा आइपुगेका छन् ।
संविधानभन्दा माथि केही नेता हावी हुँदा समस्या भइरहेको संवैधानिक तथा कानुन व्यवसायी मञ्चका अध्यक्ष तथा अधिवक्ता ओमप्रकाश अर्याल बताउँछन् । ‘अँध्यारो कोठामा बसेर संविधानमाथि नेताहरूले राजनीति गरे, अहिले संविधानमाथि दोषारोपण गर्ने काम भइरहेको छ,’ अधिवक्ता अर्याल भन्छन्, ‘आफूले बनाउने बित्तिकै संसारको उत्कृष्ट भन्ने अहिले ९ वर्ष नबित्दै संविधानमाथि दोषारोपण भएको छ, जुन गलत छ ।’ संविधानमाथि नभई पात्रमा खराबी भएको, तर अहिले संविधानमा खराबी छ भनेर विषयान्तर गर्न थालिएको उनको भनाइ छ । ‘यसकारण संविधानलाई बिगार गर्न थालिएको छ,’ अर्यालले भने, ‘संविधानमाथि अनास्था पैदा गर्ने काम भइरहेको छ, यसबीचमा त्यही देखियो, अर्को कुरा असन्तुष्ट पक्षलाई सहमत गराउन सक्नुपर्छ, जसले संविधानको दायित्व लिएको हो उसले मनाउन सक्नुपर्छ ।’ संविधानमाथि अनास्था दोषारोपण गर्ने कुरा अहिले जसरी नेताहरूले गरिरहेका छन् त्यो भनेको संविधानमाथिको राजनीति भएको उनको बुझाइ छ । आजको राजधानी दैनिकबाट