सालक जोगाउन कृत्रिम देवल

14.3k Shares

हेटौईडा । चुच्चेखोला सामुदायिक वनभित्र प्राकृतिक रूपमा धमिराका देवल देख्न कठिन छ । मान्छेले देख्न नपाउँदा त्यसको खासै असर पर्दैन तर तिनै देवलमा आहारा खोज्ने दुर्लभ तथा लोपोन्मुख सालकका लागि आहारकै सङ्कट हुँदै गएकोे छ । 

वनजङ्गलमा रुखका ठुटामा लाग्ने धमिराले भित्रभित्रै काठ खाँदा देवल ठडिँदै जान्छ । तिनै देवलमा रहेका धमिरा सालकका आहारा हुन् तर ती नै नासिँदा सालक सङ्कटमा परेको हो । 

यस अवस्थामा मकवानपुरको हेटौँडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले बेग्लै जुक्ति निकालेको छ । स्तनधारी जनावर सालकको आहारका लागि धमिराको घर निर्माण गरिदिएर पारिस्थितिकीय प्रणाली सञ्चालन गर्न कृत्रिम आहार व्यवस्थापनको काम उपभोक्ता समूहले गर्न थालेको छ । 

वनभित्र जाँदा सालका झिँजामिजामा धमिरा र कमिला जम्मा भएको देखेपछि स्थानीय उपभोक्ताले सालकको आहार जोहो गरिदिने सोच बनाएका हुन् । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव एवं व्यवस्थापक केदारप्रसाद गौतमका अनुसार सुरुमा दुई स्थानमा दुई मिटर लम्बाइ र चौडाइका खाल्डो खनियो । त्यसपछि सबैभन्दा पहिले खाडलमा सालका झिँजामिजा हालियो अनि कार्टोन र त्यसमाथि माटोले पुरियो । यो प्रक्रिया दोहो¥याइयो । अहिले त्यहाँ कमिला र धमिराको गोलो लागेको छ । धमिराले माटो बोकेर छ फिट अग्लो देवल बनाइसकेको छ । 

करिब तीन वर्षको मेहनतपछि समूहले वनभित्र दुई वटा धमिराको देवल बनाउन सफल भएको जानकारी दिँदै उहाँले यस वर्ष अरू चार वटा थप्ने तयारी गरिएको बताउनुभयो । 

दुई सयको हाराहारीमा रहेका सालक जोगाउन समूह लागेको छ । समूहका अध्यक्ष लक्ष्मण कटुवालले मान्छे जस्तै वन्यजन्तुलाई पनि खानाको आवश्यकता पर्ने भएकाले वन्यजन्तुका लागि पनि आहारको जोहो गरिदिनु समूहको काम भएको बताउनुभयो । उक्त वनमा जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका सालकको संरक्षण गरिँदै आएकाले उचित तवरले वासस्थान र आहाराको पनि हामीले व्यवस्था मिलाएको उहाँले भन्नुभयो । जिल्लाको सबै क्षेत्रमा पाइने शान्त एवं लजालु स्वभावको स्तनधारी जनावर सालक माटो खुकुलो बनाउने र किसानको अन्नबालीलाई हानि नगर्ने भएकाले सालक किसानमैत्री वन्यजन्तुका रूपमा चिनिएको डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत वसन्तराज गौतमले बताउनुभयो । 

संसारमै दुर्लभ मानिएका आठ प्रजातिका सालकमध्ये यहाँको वन क्षेत्रमा कालो सालक (चाइनिज प्याङ्गोलिन) र तामे सालक (इन्डियन प्याङ्गोलिन) पाइन्छ । किसानमैत्री वन्यजन्तुका रूपमा परिचित सालकको मासु र खपटामा औषधीको गुण पाइने भन्दै नेपालबाट चीन र भियतनाममा यसको चोरी तस्करी हुने गरेको छ । मकवानपुरका चार सय वटा सामुदायिक वनमध्ये सय वटा वन क्षेत्रमा सालक देखिएका छन् । मकवानपुरका दुई वटा सामुदायिक वनले भने सालकको चोरीसिकारी र तस्करी रोक्दै संरक्षणको अभियान नै चलाएका छन् । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार