लेभरक्युजनमाथि दबाब बढाउँदै बायर्न

15.9k Shares

म्युनिख । प्रतिस्पर्धात्मक खेलमा अस्बर्गलाई हराउँदै बायर्न म्युनिखले शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा बायर्न ३–२ गोलले विजयी बनेको हो ।

अलेक्सान्डर पाभ्लोविच र अल्फोन्सो डेभिसले गोल गर्दै बायर्नलाई पहिलो हाफमा सहज अग्रता दिलाएका थिए । तर अर्मेडिन डेमिरोभिचले दोस्रो हाफको सुरुवातमा नै एक गोल फर्काएका थिए ।

त्यस लगत्तै इंल्याण्डका फरवार्ड ह्यारी केनले गोल गर्दै पुनः बायर्नको अग्रता दोब्बर बनाए । यो सिजन केनको २३ औँ गोल थियो । बायर्नका लागि पहिलो सिजनमै सबैभन्दा धेरै गोल गर्ने रेकर्ड लुका टोनीको नाममा रहेको छ । उनले २४ गोल गरेका थिए ।

खेलको अन्त्यमा डेमिरोभिचले पेनाल्टीबाट अर्को गोल गरे पनि टोलीलाई खेलमा फर्काउन सकेनन् । शनिबार नै भएको शीर्ष स्थानमा रहेको बायर लेभरक्युजन बोरुसिया मोचनग्ल्याडब्याचसँग बराबरीमा रोकिएपछि बायर्नले शीर्ष स्थानको दुरी २ अङ्कमा झार्न सफल भएको छ । १९ खेलपछि बायर्नको ४७ अङ्क रहेको छ भने लेभरक्युजनको समान खेलबाट ४९ अङ्क छ ।

सम्बन्धित समाचार