जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु, यी हुन् लक्षण

17.2k Shares

काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट सन् २०२४ को जनवरीदेखि हालसम्म १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसबाट हालसम्म १४ जनाको मृत्यु भएको जानकारी दिए ।

डा. गौतमका अनुसार, हालसम्म ६१ जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । ती सबैको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।

उनले भदौ १५ देखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरे ।

सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिन्छ । तर, जापानिज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको क्युलेक्स लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्ने भएकाले असोज १५ गतेसम्म जोखिम नै रहेको डा. गौतमको भनाइ छ । 

धान खेतमा जम्मा हुने पानीमा ती प्रजातिका लामखुट्टेले फुल पार्छन् । ती फुलबाट लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा संक्रमण सार्छन् । र, ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग सर्छ ।

क्युलेक्स लामखुट्टेले फोहोर पानीमा फुल पार्ने गर्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म जापानिज इन्सेफ्लाइटिसको लक्षण देखापर्ने डा. गौतमले बताए ।

सन् २०१६ देखि सरकारले जन्मेको १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप दिँदै आएको छ ।

सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिइएको थियो । त्यसपछि जन्मेका सबै बालबालिकालाई उक्त संक्रमणबाट जोगाउन खोप दिइँदै आएको छ ।

शाखा प्रमुख डा. गौतमले १२ महिनामा छुट भएका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने जानकारी दिए । जापानिज इन्सेफ्लाटिस धेरैजसो १५ वर्षमुनिका बालबालिकामा हुने गर्छ ।

सम्बन्धित समाचार