बाजुरा । बाजुरा जिल्लाको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षको साउन र भदौमा बिक्री गरेको तुलनामा यस आवमा ५० प्रतिशत व्यापार घटेको छ । गाउँमा खाद्यान्न खाने जनशक्ति नभएकाले व्यापार घटेको हो ।
गत आवको डेढ महिनामा १ हजार ६ सय ६ क्विन्टल ७५ किलो खाद्यान्न बेचको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आवको यही अवधिमा ८ सय २६ क्विन्टल ८४ किलो खाद्यान्न मात्र बिक्री गर्न सकेको छ ।
गत आवको भदौदेखि माघसम्म बाजुराका सबै खाद्य व्यवस्था तथा व्यापार कम्पनी, डिपो, अस्थायी बिक्री केन्द्रमा ताला लागेको थियो । तर, यस वर्ष मार्तडीस्थित बिक्री केन्द्रको गोदाममा चामल बिक्री नभएकाले बडिमालिका नगरपालिकाको तरकारी संकलन केन्द्रमा खाद्यान्न राख्नुपर्ने बाध्यता छ । गाउँमा युवा जनशक्ति सबै विदेश पलायन भएकाले खाने मान्छे नभएका कारण यो समस्या देखिएको हो ।
विगतका वर्षमा सधैं खाद्यान्नका लागि लाइन बस्नुपर्ने बाध्यता भएको कोल्टी डिपोमा समेत यस वर्ष २ हजार ५ सय क्विन्टल चामल मौज्दात रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखाका प्रमुख उमेश भण्डारीले बताए ।
आव २०८०÷८१ मा मार्तडीमा ७ हजार क्विन्टल, कोल्टीमा ६ हजार ५ सय क्विन्टल, कुवाडी डिपोमा २ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल खाद्यान्न कोटा स्वीकृत भएको थियो । जसमा कुवाडीमा फागुनमा २ सय क्विन्टल र वैशाखमा १ हजार ७० क्विन्टल चामल गएको थियो भने मुक्तिकोटमा २०८० जेठमा ५ सय क्विन्टल खाद्यान्न गएको थियो । कुवाडी डिपो र मुक्तिकोट डिपोमा वैशाख महिनाको अन्तिमदेखि बाटो बिग्रेका कारण चामल जान सकेको छैन । मार्तडी शाखामा ४ हजार ४ सय क्विन्टल चामल मौजुदा रहेको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखाका प्रमुख भण्डारीले भने, ‘पूर्वाेत्तर क्षेत्रको कोल्टी क्षेत्रमा जाने बाटो वर्षात्का कारण बिग्रेकाले त्यहाँ जाने चामलसमेत यहीँ थन्किदा राख्न समस्या भएको हो, अर्कोतिर यहाँबाट बिक्री केन्द्रसम्म खाद्यान्न ढुवानीका लागि ठेक्का भएको छ, कसले ढुवानी गर्ने भन्ने नटुंगिएकाले यहाँ राख्नका लागि समस्या भएको हो ।’
२०५२ सालमा र २०३८ सालमा बनेका क्रमशः हजार क्विन्टल र ५ सय क्विन्टल क्षमता भएका भवनहरू जीर्ण बन्दै गएकाले क्षमताभन्दा करिब दोब्बर बढी चामल मौजुदा रहेकाले समस्या भएको सो कार्यालयले बताएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायका अनुसार जिल्लाको पूरा क्षेत्रफलको ९ दशमलव २१ प्रतिशत मात्र खेतीयोग्य जमिन रहेको छ । सिञ्चित क्षेत्र १ दशमलव ४२ प्रतिशत मात्र रहेको छ, अर्थात् ७ दशमलव ७९ प्रतिशत जमिनमा सिँचाइ सुविधा छैन । यस जिल्लाले हरेक वर्ष खाद्यान्न असुरक्षित जिल्लाको परिचय बनाएको छ । बर्सेनि जिल्लालाई २८ हजार १ सय ५ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको थियो । त्यसमा ११ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । आजको राजधानी दैनिकबाट