अफ्रिकामा जनवरीदेखी १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण पुष्टि

13.1k Shares

एजेन्सी– एकै हप्तामा १ हजार २०० जनामा एमपक्स सङ्क्रमण प्रमाणित भएसँगै सन् २०२४ को जनवरीदेखी अफ्रिकामा कुल १८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण फेला परेको अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले शनिबार जनाएको छ।

स्वास्थ्य विभागको तथ्याङ्कअनुसार भाइरसको तीनवटा भेरियन्ट छन् जसमध्ये एउटा अधिक घातक , अधिक सङ्क्रमक 'क्लेड –१ बी' हो। पछिल्लो समय बढिरहेको एमपक्स सङ्क्रमणलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।  

हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूबाट तीन हजार १०१ घटनाहरु पुष्टि हुनुका साथै सङ्क्रमण कारण ५ सय ४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (सीडीसी) ले विज्ञप्तिमार्फत जनाएको छ।  

सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देश कङ्गोमा सन् २०२३ सेप्टेम्बरमा पहिलो पटक भाइरसको नयाँ 'क्लेड–१ बी' भेरियन्ट पत्ता लागेको थियो जहाँ १ हप्तामा एक हजार पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा २४ जनाको मृत्यु भएको थियो।

लगभग दश करोड मानिस बसोबास गर्ने डीआरसीका सबै प्रान्तमा सङ्क्रमणका घटनाहरू दर्ता भएका छन्। यसै गरी छिमेकी बुरुन्डीमा एमपक्सको १७३ केश रिपोर्ट गरिएको छ।  

सम्बन्धित समाचार