काठमाडौँ । २०८० असोज ४ गते बाँकेको जयन्दु बाल सुधारगृहमा बाल बिझ्याइँकर्ता (बालबन्दी) बिचको झडपमा रुपन्देही कञ्चन–४ का सुलभ केसीको ज्यान गयो । अन्य ११ जना बालक घाइते भए । १२० जना क्षमताको सो बाल सुधारगृहमा हाल २६६ जना १४ देखि ३० वर्षसम्मका बालबन्दी छन् ।
बालबन्दीको चापका कारण दुई वटा ब्लक (भवन) मा राखिएका बालबन्दीबिचको विवादमा अर्को ब्लकमा बस्ने वयस्क युवाको कुटाइबाट केसीको मृत्यु भएको सुधारगृहका प्रमुख विमला काउचामगर बताउनुहुन्छ ।
त्यसपछि सोही महिनाको २५ गते पुनः बालबन्दीबिच कुटपिट हुँदा ६५ जना बालबन्दी फरार भए । खाना खाने बेला लाइन बस्ने विषयमा चौकीदार र बालबन्दीबिच झडपका क्रममा भागेका दुई जना भारतीय बालबन्दी फेला परेनन् ।
५० जना क्षमताको कास्कीको सराङकोटस्थित बाल सुधारमा राखिएका १०१ जना कैदीबिच गत फागुन ११ गते यस्तै घटना दोहोरिँदा तीन जना बालबन्दी गम्भीर घाइते भए । २०७९ पुस र माघमा यो सुधारगृहमा आगजनीसमेत भयो ।
२०७९ भदौ ३ गते भक्तपुरको सानोठिमीस्थित सुधारगृहमा रामेछापको मन्थली–३ का २१ वर्षीय कमल बस्नेतको मृत्युकै विषयमा बालबन्दी नाराबाजी, तोडफोड आगजनीमा उत्रिएर २३१ कैदीबन्दी सडकमै आए । ११० क्षमताको सानोठिमी बाल सुधारगृहमा रहेका २५५ बालबन्दीमध्ये २४–३० वर्ष उमेर समूहका १८ जना लागुऔषध कसुरकालाई अन्यत्र सारियो । भदौ २६ गते पर्साको वीरगन्जस्थित बाल सुधारगृह लगिएका तिनै १८ जनाले त्यहाँ पहिले रहेका बालबन्दीसँग फेरि झडप गर्दा नियन्त्रण गर्न प्रहरीलाई नै समस्या भयो ।
बाल बिझ्याइँकर्तालाई बाल सुधारगृहमा व्यवस्थापनको समस्याका यी केही प्रतिनिधि घटना मात्र हुन् । पुराना भौतिक संरचनामा बढ्दो बालबन्दीको चापका कारण देशभरका नौ वटा बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर रहेका बालबन्दीबिचको विवादले बाल सुधारगृह प्रायः अशान्त भइरहन्छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार देशभर रहेका नौ वटा बाल सुधारगृहको क्षमता ८९५ रहेकोमा बालबन्दीको सङ्ख्या बढेर एक हजार २५१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता, चन्द्रकला पौडेलले बालबन्दीको सङ्ख्या बढ्दै जाँदा र १८ वर्ष उमेर पुगेका बालबन्दीलाई अन्यत्र व्यवस्थापन गर्न नसक्दा सुधारगृहमा चापसँगै उच्छृङ्खल गतिविधि हुने गरेको बताउनुभयो । उहाँले बालबन्दीको अधिकार र उनीहरूले पाउनुपर्ने न्यूनतम सुविधासँगै शिक्षा र सिप विकासका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट