काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले अख्तियारमा मंगलबार उजुरी दिएका हुन् ।
उनले कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको भन्दै छानबिन माग गरेका छन् ।
खरेलले त्यसअघि नै कुलमानको सुनकोसी इन्जिनियरिङ कम्पनी रहेको भन्दै अहिलेसम्ममा पनि उक्त कम्पनी निरन्तर घाटामा देखिएको उल्लेख गरेका छन् । “अहिले त्यो कम्पनी उनका दाई गणेशले चलाउँदै आएका छन् । पछिल्लो समय उनले खोलेको हार्डवेयरले सिमेन्ट रड मात्र बेच्दैन । कमिसनको मोटो रकम पनि व्यवस्थापन गर्छ,” खरेलले दाबी गरेका छन्, “त्यही भएर हुन सक्छ एउटा हार्डवेयरको नाममा १७ वटा बैंक खाता खोलेर एक वर्षमा नै अर्बौको कारोबार गरेको ।”
उनले त्यही कारण कुलमानको सम्पत्तिको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन जरुरी रहेको बताएका छन् । खरेलले विद्युत् खरिद सम्झौता पीपीएमा धेरै ठूलो घोटाला गरेको दाबी गरेका छन् । उनले नियमानुसार विद्युत् नियमन आयोगको स्वीकृतिबिनै सम्झौता गरेर धेरै ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।