काठमाडौं-पेरिस ओलम्पिक २०२४ मा अमेरिकाले पहिलो स्थान हात पारेको छ । ओलम्पिकका सबै खेल सकिएसँगै अमेरिकाले १ सय २६ पदकसहित पहिलो स्थानमा रहन सफल भएको हो ।
स्वर्ण पदकमा अमेरिकाले चीनसँग बराबरी गरेको छ । कुल १२६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो।
यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन आज १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको हो । एसियाली देश चीनले आज एक स्वर्ण थप गरेर ४० पुर्यायो ।
अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ । उसले अहिलेसम्म २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अन्तिम दिन स्वर्णमा चुक्दा अस्ट्रेलियाले तेस्रो स्थान बचाउन सकेन । उसले १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेको छ। आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ ।