सङ्खुवासभा । मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा रु दुई करोड बढी राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालयले यस आवमा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो ।
आर्थिक वर्ष २०८०-०८१ मा दुई करोड ३२ लाख ७५ हजार पाँच सय ३९ रुपैयाँ राजस्व सङ्कलन गरेको मालपोत कार्यालय सङ्खुवासभाका प्रमुख चेतनाथ पराजुलीले जानकारी दिनुभयो ।
सङ्खुवासभामा एक वर्षको अवधीमा २२ सय ५४ रजिस्ट्रेसन पास भएको मालपोत कार्यालयले जनाएको छ । सोमध्ये छ सय ४५ रजिस्ट्रेसन महिलाका नाममा मात्र कारोबार भएको देखिन्छ । कार्यालयले सबैभन्दा बढी रजिस्ट्रेसन शुल्कबापत एक करोड ५७ लाख ९० हजार एक सय १६ रुपैयाँ, सेवा शुल्कबापत २४ लाख ३९ हजार रुपैयाँ, पुँजीगत लाभकरबापत ७४ लाख ८५ हजार चार सय २३ रुपैयाँ, न्यायिक दस्तुर दण्ड जरिवानामा पाँच लाख २४ हजार ३० रुपैयाँ राजस्व सङ्कलन गरेको मालपोत कार्यालयका प्रमुख पराजुलीले बताउनुभयो ।
सङ्कलन भएको ५९ लाख ३० हजार दुई सय ७९ प्रदेश र ८८ लाख ९५ हजार चार सय १८ रुपैयाँ राजस्व स्थानीय तहमा पठाएको प्रमुख पराजुलीले बताउनुभयो । यो वर्ष सबैभन्दा धेरै खाँदबारी नगरपालिकामा ७० लाख ३३ हजार तीन सय ११ रुपैयाँ राजस्व सङ्कलन भएको छ । भोटखोलामा दुई लाख २३ हजार सात सय १३ रुपैयाँ राजस्व सङ्कलन भएको मालपोत कार्यालयले जनाएको छ ।
एक वर्षको अवधिमा २२ सय ५४ रजिस्ट्रेसन पास भएको छ । सोमध्ये छ सय ४५ रजिस्ट्रेसन महिलाका नाममा कारोबार भएको देखिन्छ । त्यस्तैगरी तीन सय १० वटा नामसारी भएको छ भने १५ सय ९० जग्गाधनी सङ्ख्या थप भएको मालपोत कार्यालयले जनाएको छ । आजको गोरखापत्र दैनिकबाट