काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पुग्नुभन्दा एक साताअघि नै आफूले राजीनामा दिने बताएका छन् । २ वर्ष आफ्नो सरकार जाने बताउँदै ओलीले त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए ।
मंगलबार सिंहदरबारमा मन्त्री तथा सचिवहरूलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकारका ’दयगतमा ढुक्क हुन भनेका छन् । ‘यो सरकारमा पनि कति दिन हो र रु अस्ति कसले तिथि तोक्दै गरेको सुनेको थिएँ, राजनीतिक ज्योतिषी पल्टिँदै थिए,’ ओलीले भने, ‘मेरो नेतृत्वमा २ वर्ष चल्ने हो, मैले २ वर्ष पुग्नु एक साताअघि नै राजीनामा गरिसकेको हुनेछु ।’ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा जाने बताए ।
आफ्नै पानीजहाज र रेल सञ्चालन गर्ने विषयमा भएको प्रगति माग गर्दै प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई दिए विशेष निर्देशन
उनले सरकार ढल्ने त के ढलपलसमेत नहुने ठोकुवा गरे । अहिलेको सरकार स्थिरता भएको सरकार भनी उनले विश्वास दिलाए । ‘सरकार कुनै पनि प्रकारको दाउपेच, केका लागि छिर्के लगाएर बनेको होइन, कर्तव्यबोध गरेर बनाएको हो, ठूला पार्टीले सुझबुझ गरेर बनाएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’
प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिए । विद्यमान ऐन कानुनको अधीनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न उनले निर्देशन दिए ।
उनले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि निर्देशन दिए । नागरिकका लागि सहज सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न उनको निर्देशन थियो । उनले हरेक दिन, साता, महिना, त्रैमास, अर्धवार्षिक, वार्षिक र आवधिक योजना र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले विभिन्न निकायमा सेवा लिन लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्न र झन्झटरहित सेवाप्रवाहको व्यवस्था मिलाउन पनि निर्देशन दिए । चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र सहज रूपमा पाउने व्यवस्था गर्न उनले निर्देशन दिएका छन् ।
‘आइतबार सचिवहरूबाट पनि केही कुराहरू आएका थिए, त्यो पर्याप्त छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधान र कानुनको अधीनमा रही मुलुक र जनताको हितमा काम गर्नुहोस् ।’ प्रधानमन्त्री ओलीले अहिलेको काम सन्तोषजनक नभएको भन्दै प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । ‘मैले विद्यमान अवस्था सन्तोषजनक नरहेकाले सरकार परिवर्तन भएको भनेको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला सरकारमा संसद्का ठूला दुई दल छन्, यी दुई पार्टीले सामाजिक र आर्थिक परिवर्तनमा योगदान गरेका छन्, यी दुई ठूला दल कहिले आकारमा सानो भए पनि यिनको इतिहास, योगदान, दृष्टिकोण र सामथ्र्य भने ठूलो छ ।’
प्रधानमन्त्री ओलीले सरकारसामु असाधारण चुनौती रहेको उल्लेख गर्दै सरकारलाई असफल हुने छुट नभएको बताए । ‘यो अन्तिम आशा ९लास्ट होप० हो, यो सरकार असफल हुन बनेको पनि होइन, सरकार जसरी पनि सफल हुन्छ,’ उनले भने, ‘हामी हातमा हात बाँधेर मात्र बस्यौं भने सफल भइँदैन, भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहुन सकिन्न, यसका लागि प्रतिबद्धता चाहिन्छ ।’
प्रधानमन्त्री ओलीले नेपालको आफ्नै पानीजहाज र रेल सञ्चालन गर्ने विषयमा भएको प्रगति माग गरेका छन् । उनले सम्भावित अध्ययन भएका ठाउँमा पानीजहाज चलाउने उल्लेख गर्दै सोहीअनुसार काम गर्न निर्देशन दिए । आजको राजधानी दैनिकबाट