काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको सीआरजे–७ (९एन–एएमई) कलसाइन भएको विमान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै आकाशबाट भुइँमा बजारिएर भयानक दुर्घटनामा प¥यो ।
सो विमान विमानस्थलको पेप्सीकोला र गोठाटारतिरको रनवेबाट पूर्वतिरको भागमा खसेर दुर्घटना भएको हो । सो विमान मर्मतपछिको पूर्ण परीक्षण (सी–चेक)का लागि पोखरा जानेक्रममा विमानस्थलको धावनमार्ग छोड्नासाथ भयानक दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त विमानमा परी चालक दलका सदस्यसहित १८ जनाको ज्यान गएको छ । सो विमानका चालक (क्याप्टेन) मनीषरत्न शाक्य मात्र बाँच्न सफल भएका छन् । आफ्नै कर्मचारी र प्राविधिक-इन्जिनियर बोकेर मर्मतका लागि पोखरा उडेको सो विमानमा अधिकांश सौर्य एयरकै प्राविधिक कर्मचारी थिए । सो विमानमा चालक दलका सदस्यसहित कुल १९ जना सवार थिए । घाइते विमान चालक शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
चालक शाक्य र सहचालक एस कटुवालले उडान भरेको सो विमानमा सवारमध्ये एक जना विदेशी नागरिक हुन् । सो विमान दुर्घटनामा ज्यान गुमाउने १८ जनामा सहचालक कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विनकुमार निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडा रहेका छन् । रेडा यमनका नागरिक हुन् ।
मृतक १८ जनाको शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गर्ने काम भइरहेको छ । तीन दिनपछि मात्र मृतकको शव आफन्तलाई बुझाइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । आगोले डढेका कारण उनीहरूको शव पहिचानमा समेत समस्या भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भर्नेबेला सो विमानको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ भएको थियो । जुन एयर ट्राफिक कन्ट्रोलरले विमान उडाउन विमान चालकलाई दिने आदेश हो ।
धावनमार्ग शून्य दुई (कोटेश्वरतर्फ) बाट सो विमानले टेकअफ लिएर उड्यो । त्यसको २० देखि २२ सेकेन्डमा आकाशमा ढलपल–ढलपल गर्दै दाहिनेतर्फ मोडिएर भुइँमा बजारिन पुगेको प्राधिकरणले जनाएको छ । आजको राजधानी दैनिकबाट