गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

18.4k Shares

काठमाडौँ - गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन्। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल(भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो। 

यसैगरी कोरोना महामारीपछि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा उनीहरूबीच सकारात्मक छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ।

यस्तै भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न दुवै पक्ष आपसी समन्वय र समझदारीका साथ अगाडि बढ्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो।

त्यस अवसरमा राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री लेखकलाई बधाई ज्ञापन गर्दै नेपालमा देखिएका प्राकृतिक प्रकोप लगायत समस्या समाधान गर्न भारत सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

सम्बन्धित समाचार