एमजी गाडीमा गम्भीर प्राविधिक समस्या : आफैं गुड्ने, चार्ज गर्दा पड्किने

16.3k Shares

काठमाडौं । विद्युतीय गाडी एमजीमा एकपछि अर्को गर्दै गम्भीर प्राविधिक समस्याहरू देखा पर्न थालेका छन्। कहिले चार्जमा राखेका बेला आफैं आगलागी हुने त कहिले गाडी अगाडि बढाउँदा आफैं पछाडि जाने र पछाडि लैजाँदा आफैं अगाडि बढ्नेजस्ता प्राविधिक समस्या देखा पर्न थालेका छन् ।

गत असार १८ गते मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार गेट नजिक बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको एमजी ब्रान्डको जेडएस भेरियन्टको कार ब्याक गर्ने क्रममा एक्कासि आफैं अगाडि बढेर अर्को गाडीमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ।

उक्त दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। चालकले बिस्तारै गाडी पछाडि लैजान खोजेको भए पनि एक्कासि गाडी आफैं अगाडि बढ्दा चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको थियो।

त्यति मात्रै होइन गाडीमा सुरक्षाका निम्ति राखिएको भनिएको एयरब्यागसमेत नखुल्दा गाडीमा सवार पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानकी श्रीमती विद्या वनमाली प्रधान गम्भीर घाइते हुनुभएको छ। दुर्घटनाका बेला विमानस्थलमा तैनाथ सुरक्षाकर्मी र सर्वसाधारणले घाइतेको उद्दार गरेका थिए। तत्पश्चात दुर्घटनाको कारण खोजी हुँदा गाडीमा प्राविधिक समस्या रहेको फेला परेको हो।

यसअघि गत वर्षको पुसमा बूढानीलकण्ठस्थित देउवाचोकमा चार्जमा राखिएको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको एमजी कम्पनीको गाडीमा आफैं आगलागी भएको थियो। उक्त घटनालाई एमजी मोटर्सको नेपालस्थित आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गुपचुप राख्न सफल भए पनि यसपटक विमानस्थलमै उक्त घटना घटेपछि कम्पनीलाई लुकाउन अप्ठ्यारो भइरहेको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार