काठमाडौं । सोमबार मध्यरातमा प्रतिनिधिसभाका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको समझदारीअनुसार राष्ट्रिय सहमतिको सरकार गठनबारे नेताहरूले तीव्र तयारी थालेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको नयाँ सत्ता समीकरणको सहमतिलाई दुवै दलले आ–आफ्नो पार्टीबाट अनुमोदन गराउँदै नयाँ सरकार गठनको तयारी थालेका हुन्। यसका लागि दुवै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।
कांग्रेसले पदाधिकारी, कार्यसम्पादन समिति र एमालेले सचिवालयको बैठक बोलाएर उक्त सहमति पारित गराउँदै प्रधानमन्त्रीलाई सरकार छाड्न आग्रह गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न गठबन्धन बनाइएको हो । यसलाई पूर्ण कार्यान्वयन गर्ने गरी अघि बढ्छौं ।’
बुधबार कांग्रेसको कार्यसम्पादन समितिले कांग्रेस–एमालेसहितको राष्ट्रिय सरकारका लागि भएका पछिल्ला निर्णयको अनुमोदन गरेको डा.महतको भनाइ छ । ‘संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक एमाले अध्यक्ष ओली र दोस्रोपटक कांग्रेसका सभापति देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ । त्यस्तै, नेकपा एमालेले मंगलबार नै नयाँ सत्ता समीकरणको निर्णय अनुमोदन गर्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरिसकेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ । ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ’–उहाँले भन्नुभयो– ‘हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’ आजको नेपाल समाचारपत्र दैनिकबाट