काठमाडौं - रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि अर्को सातादेखि सार्वजनिक निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा बद्नियतपूर्ण देखिएको दाबी गर्दै प्रक्रिया स्थगित गरी छानबिन तथा कारबाही गर्न लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डसमक्ष माग गरेका छन्।
आईपीओ जारी गर्न कम्पनीले पेस गरेका तथ्यांकहरू गलत र यथार्थपरक नरहेको भन्दै लगानीकर्ताका विभिन्न चारवटा संगठनका अध्यक्षले संयुक्त रूपमा बोर्डमा उजुरी दर्ता गराएका हुन् ।
नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्षहरूले धितोपत्र बोर्डमा दर्ता गराएको निवेदनमा कम्पनीले पेस गरेका तथ्यांकहरूको जाँच, विश्लेषण नगरी बोर्डले अनुमति दिँदा धितोपत्र ऐन २०६३ को उद्देश्यविपरीत भएकाले प्रक्रिया स्थागित गरेर विज्ञहरूबाट छानबिन गराउनुपर्ने, अनुसन्धानमा दोषी देखिएकालाई कारबाहीपछि आवश्यक सुधार गरेर मात्रै आईपीओ निष्कासन प्रक्रियालाई अगाडि बढाउन माग गरिएको छ।
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रियामा कम्पनीको मात्रै नभई बोर्डका अधिकारीहरूको भूमिकामा समेत आशंका उत्पन्न गराएको छ। बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्ने अनुमति दिँदा धितोपत्र ऐनको प्रस्तावना र दफा ३ को उपदफा (१) लाई ख्याल नगरिएको उल्लेख छ।
जसले गर्दा रिलायन्स स्पिनिङ मिल्सले पेस गरेका असम्भव प्रायः पूर्वानुमानलाई बोर्डले मान्यता दिएको जनाइएको छ । आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमास सकिनै लागेको अवस्थामा पनि पहिलो त्रैमासकै तथ्यांकलाई आधार मानेर शून्य दशमलव ९६ पैसा प्रतिसेयर आम्दानीबाट ३२ रुपियाँ ९० पैसा अर्थात् ३४२७ प्रतिशतले आम्दानी बढ्ने भनेर गरिएको प्रक्षेपण भ्रामक र कपोलकल्पित रहेको दाबी गरिएको छ । साथै धितोपत्र बोर्डले उक्त तथ्यांक जाँच नगरेकाले छानबिनको आवश्यकतासमेत औंल्याइएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट