सरकारले ५ करोडको उपकरण नकिन्दा ५ अर्ब राजस्व गुम्यो

16.8k Shares

काठमाडौं । सरकारले विद्युतीय गाडी (ईभी)को क्षमता मापन गर्ने उपकरणहरू च्यासी डाइनोमोमिटर र मोटर डाइनोमोमिटर समयमा नै खरिद गर्न नसक्दा चिनियाँ गाडी बीवाईडीको ठगी धन्दा मौलाउन पुगेको छ।

बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इंकले बढी किलोवाटको ईभी गाडीलाई कम किलोवाट देखाएर राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले कागजपत्रहरू नियन्त्रणमा लिई छानबिन जारी राख्दै आइरहेको छ। तर, बीवाईडीका ती गाडीहरूको क्षमता मापन गर्ने उपकरण नहुँदा राजस्व अनुसन्धान विभागको छानबिन प्रक्रियामा समेत समस्या पर्न सक्ने देखिएको छ।

प्राविधिकहरूका अनुसार ईभीको चक्कामा के कति पावर आएको छ भनेर नाप्न च्यासी डाइनोमोमिटर प्रयोग गरिन्छ भने गाडीको वास्तविक क्षमता मापन गर्न मोटर डाइनोमोमिटर प्रयोग गरिन्छ। नेपालमा यी दुवै उपकरणहरू नहुँदा ईभी गाडीका आयातकर्ताले गाडीको क्षमताका बारेमा जस्तो कागजात पेस गर्छन् त्यसैलाई विश्वास गर्नुपर्ने अवस्था रहेको छ।

जसका कारण पनि अर्बौं राजस्व ठगी भइरहेको बताइएको छ। विदेशमा भने सरकारी निकायले नै यस्ता गाडीको क्षमता नापेर सोहीअनुसार राजस्व लिने गरेको प्राविधिकहरूको भनाइ छ। ती मेसिनको मूल्य झण्डै ५ करोड पर्छ। सरकारले पाँच करोडको मेसिन किन्न नसक्दा ईभी गाडीबाट लिनुपर्ने झण्डै ५ अर्ब बराबरको राजस्व गुमाएको स्रोतको दाबी छ।

राजस्व अनुसन्धान विभागले यस सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समेत आवश्यक समन्वय गरी ईभी गाडीको क्षमता मापन सम्बन्धमा आवश्यक उपाय निकाल्नुपर्नेमा त्यस सम्बन्धमा कुनै गृहकार्य नभएको बुझिएको छ।

साथै यस सम्बन्धमा सरकारका सरोकारवाला निकायको रूपमा रहेका राजस्व अनुसन्धान विभाग, भन्सार विभाग र यातायात व्यवस्था विभाग बीचमा समेत कुनै समन्वय हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत यसलाई गम्भीरतापूर्वक लिएको छैन भने मुख्य दायित्वमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले समेत ईभीको क्षमता मापन गर्ने मोटर डाइनोमोमिटर खरिद प्रक्रियामा पूर्ण रूपमा बेवास्ता गर्दै आइरहनुभएको बताइन्छ। मन्त्री महासेठले ती गाडीको क्षमता मापन गर्ने उपकरण ल्याउन पहल गर्नुपर्नेमा मन्त्रालयमा अझै यस सम्बन्धमा कुनै छलफल थाल्न नसकेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार