काठमाडौं । चिनियाँ गाडी बीवाईडीको नेपालस्थित बिक्रेता कम्पनी साइमेक्स इंकले विद्युतीय गाडीसम्बन्धी नीति बनाउने क्रममै चलखेल गरेको रहस्य खुलेको छ। राजस्व छलीसम्बन्धी सो कम्पनीमाथि अनुसन्धान भइरहेका बेला उक्त रहस्य खुलेको हो।
गठबन्धन सरकारका केही मन्त्री र नेताहरूसँगको मिलेमतोमा साइमेक्स इंकले आफूअनुकूल हुने गरी आर्थिक वर्ष २०८१/८२ को बजेटमा विद्युतीय गाडीसम्बन्धी नीति समावेश गराउन सफल भएको तथ्य भेटिएको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो।
साइमेक्स इंककै अगुवाइमा विद्युतीय गाडीसम्बन्धी नीतिको ड्राफ्ट तयार गरी अर्थमन्त्री वर्षमान पुनलाई बुझाइएको स्रोतको दाबी छ। पूर्वबजेट छलफलका नाममा गरिएका विभिन्न छलफल साइमेक्स इंकको फन्डिङमा भएका थिए। तिनै छलफलको प्रतिवेदन अर्थ मन्त्रालयमा पुर्याइएको थियो।
अर्थमन्त्री पुनको ग्रिन सिग्नलपश्चात् आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत हुनुअगाडि नै साइमेक्स इंकले हजारौं गाडी आयात गरी जेठ १५ गते रातिसम्म रसुवागढी र तातोपानी भन्सार नाकाबाट जाँचपास गराउन सफल भएको स्रोतले जनायो ।
विद्युतीय गाडीमा करको दर हेरफेर हुने सूचना लिएपश्चात् आयात गरिएका गाडीको भन्सार जाँचपास गराउन रसुवागढी र तातोपानी नाकामा रातिसम्म काम गरिएको थियो। जसरी पनि बजेटअगाडि जाँचपास सक्न माथिबाटै दबाब दिइएको स्रोतको भनाइ छ। बजेटअगाडि बीवाईडीका गाडी जाँचपास गर्न ती दुई भन्सार नाकालाई भ्याइनभ्याई रहेको थियो । तर, हिजोआज सुनसानजस्तै रहेको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट