रिक्त ९ डीआईजी बढुवाको तयारी

19.9k Shares

काठमाडौं । नेपाल प्रहरीका रिक्त ९ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको तयारी भएको छ । डीआईजी बढुवाका विषयमा बढुवा समितिका संयोजक समेत रहेका गृहसचिव महेश्वर न्यौपाने र गृहमन्त्री रामबहादुर थापा बादलबीच आइतबार छलफल भएको श्रोतले जनाएको छ ।
नेपाल प्रहरीमा गत असार २४ गतेदेखि डीआईजी पद रिक्त छन् । त्यतिबेला सूर्य उपाध्यायले अवकाश पाएपछि एक डीआईजी रिक्त भएको थियो । साउन १२ गते अरु दुई डीआईजीहरु निरज शाही र प्रद्युम्न कार्की एआईजीमा बढुवा भए ।
सरकारले ५ डीआईजीको दरबन्दी थप्यो भने एक एआईजी थप गरेर विश्वराज पोख्रेललाई एआईजीमा बढुवा गरेपछि रिक्त डीआईजी दरबन्दीको संख्या ९ पुगेको छ ।
गृह श्रोतका अनुसार यसपटक आईजीकै ब्याची डीआईजी बढुवाको प्राथमिकतामा परेका छन् । २०७९ वैशाख १९ गते र २०७९ चैत २९ गते अवकाश हुने प्रहरीहरु डीआईजीका प्रतिस्पर्धी हुन् । २०५१ को ब्याचले समेत डीआईजी बढुवामा जोडबल गरेपनि त्यो समूह अहिले बढुवा नहुने भएको हो ।
दाबेदार २४ एसएसपीमध्ये २०७४ साउन १९ गते एसएसपी भएका  पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, गणेशबहादुर ऐर, राजेशलाल कर्ण, देवबहादुर बोहरा र रामकृपाल साहसँगै पछिल्लो ब्याचका दिवेश लोहनी अगाडि छन् । सौरभ राणा र उमेश रन्जितकार पनि सँगै एसएसपी भएका थिए । एसएसपीमा पछि परेका प्रकाश अधिकारी, देवबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ पनि आईजीकै ब्याची हुन् ।
२०७५ जेठ २ गते एसएसपी बढुवामा परेका अरु ९ जना पनि डीआईजीको दौडमा छन् । यो ब्याचबाट गत असारमा सहकुल थापा र अरुणकुमार बीसी डीआईजी भइसकेकाले उनीहरुलाई पनि बलियो दाबेदार मानिएको छ ।
सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री र मसाउद आलम खाँ पछिल्लो ब्याचका डीआईजी दाबेदार हुन् ।
२०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ती भएकालाई भने यसपटक बढुवा नगर्ने सहमति प्रहरी नेतृत्व र गृहमन्त्रालयबीच बनिसकेको श्रोतको भनाइ छ ।

सम्बन्धित समाचार