काठमाडौं । देशका केही स्थानमा आइतबार ९भोलि० भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती तीनका केही र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । मनसुन प्रणालीका कारण वर्षाको सम्भावना रहेको उनले बताए ।
कुनै एक स्थानमा १२ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिने उनले स्पष्ट पारे । १२ घण्टामा १० मिलिमिटरसम्मको पानी हल्का वर्षा हो ।
काठमाडौं आइतबार ९भोलि० मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । काठमाडौंमा आइतबार पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको उनले जानकारी दिए ।
“काठमाडौंमा आंशिक बदलीको सम्भावना छ । थोरैथोरै घाम, थोरैथोरै पानी पर्ने सम्भावना छ,” उनले बाह्रखरीसित भने, “अपराह्नतिर वर्षाको सम्भावना अलि बढी छ । मध्यमसम्म वर्षाको सम्भावना छ ।”
१२ घण्टामा १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ । “कुनै ठाउँमा एक घण्टामै ४० मिलिमिटर पानी पर्यो भने त्यो तत्कालका लागि धेरै होला, तर १२ घण्टालाई आधार मानेर हेर्दा त्यो मध्यम वर्षा हो,” मौसमविद् अधिकारीले भने ।
१२ घण्टामा १०० देखि २०० मिलिमिटरसम्मको पानीलाई धेरै भारी वर्षा भनिने उनले बताए । “१२ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी पर्यो भने अति भारी वर्षा भन्ने गरेका छौँ,” उनले भने ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा हाल मनसुन सक्रिय छ । लुम्बिनी प्रदेशको पनि पूर्वी भूभागमा उक्त प्रणालीको प्रभाव छ । बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।