काठमाण्डौ – विश्वभरका चिकित्सकहरुको योग्यता, शिप तथा ज्ञानको परीक्षण गर्ने एमआरसीपी यूके पेसेस परीक्षा चौंथो पटक ललितपुरमा रहेको नेपाल मेडिसिटीमा सम्पन्न भएको छ ।
दक्षिण एशियाको परीक्षा केन्द्रमध्ये नेपालको लागि नेपाल मेडिसिटी मात्रै रहेको छ । तीन दिन सम्म सञ्चालन भएको यो परीक्षा असोज २८ गतदेखि शुरु भएर ३० गतेसम्म सञ्चालन भएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
एमआरसिपी यूके पेसेस चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।
सन् २०२४ देखि नेपालका लागि नेपाल मेडिसिटीले निरन्तर रुपमा परीक्षा केन्द्रका रूपमा परीक्षा सञ्चालन गर्दै आएको छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसीपी यूकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।
बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष वर्ष बङ्गलादेश, भारत, नेपाल, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभस देशबाट ४६ जना प्ररीक्षार्थीहरु आएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १५ जना परीक्षकको उपस्थिति रहेको थियो ।