काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ ।
महाशाखाका अनुसार अहिले देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भूभागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा मधेस प्रदेशको थोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा अति ठूलो वर्षाको सम्भावना रहेको छ ।
विभागले मनसुन सक्रिय भई ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । साथै ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको पनि विभागको भनाइ छ ।