काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमम सम्बोधन गर्दै उनले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अहिले कुनै मन्त्रीले पनि नटेर्ने भन्दै लुते प्रधानमन्त्रीले देश सम्हाल्न नसक्ने बताए।
‘देश सम्हाल्ने काम प्रधानमन्त्रीको हो, तर प्रधानमन्त्रीको हालत कस्तो छरु हामीले देखेकै छौं। प्रधानमन्त्रीलाई उहाँकै मन्त्रीहरुले टेर्दैनन्,प्रधानमन्त्रीले बोल्दै गर्दा संसदमा मन्त्रीहरू, उपप्रधानमन्त्री आउँदैनन्, मन्त्रीले खल्तीबाट राजीनामा दिउँ, राजीनामा दिउँ भनेर थर्काउँछ। लुते प्रधानमन्त्री हुनुभएको छ, यस्तो अवस्थामा देश कसले सम्हाल्छरु’
महामन्त्री थापाले ‘बा’ (केपी ओली)ले आफैंलाई मात्रै टेर्ने, प्रधानमन्त्रीलाई गन्दै नगन्ने मन्त्रीहरु सरकारमा पठाएको भन्दै यो सरकार यसरी चल्न नसक्ने बताए।
यस्तो अवस्थामा प्रधानमन्त्रीले संसदमा उभिएर म गर्छु, सम्हाल्छु भन्नुपर्ने ठाउँमा आफै गनगन गर्दै हिँडेको भन्दै उनले कटाक्ष गरे। उनले सत्ताको सबैभन्दा ठूलो दल एमालेले सरकारको जिम्मा नलिएको बताउँदै बजेटको पनि विरोध गरिरहेको बताए।