काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटा आरोपमा दोषी ठहर गरिएको छ ।
१२ सदस्यीय निर्णायक मण्डल (वकिल) को समूहले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाएका छन् ।
जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय हुन सक्छ । तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन ।
एक सातासम्म चलेको यस मुद्दामा प्रत्यक्षदर्शीहरूको बयान सुनेपछि निर्णायकले ५४ वर्षीय हन्टर बाइडेनको लागुऔषधको लतबारे पनि छलफल गरेको थियो ।
हन्टरविरुद्ध झुटा बयान दिएको र अवैध थुनामा राखेको एउटा अभियोग लगाइए पनि उनले अपराध स्वीकार भने गरेका छैनन् ।
उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यस उच्चस्तरीय सुनुवाइमा दोषी ठहर गरिएको हो ।
मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी र हन्टर बाइडेनकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित थिए ।