हमासले बन्धक बनाएका चारजनाको जीवितै उद्धार

13.6k Shares

गाजा (प्यालेस्टाइनी क्षेत्र) । इजरायलले शनिबार आफ्नो सेनाले चार बन्धकलाई जीवितै उद्धार गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिनका बाबजुद सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेका बेला बन्धकलाई जीवतै रिहा गरिएको इजरायली सेनाले जनाएको हो ।

गएको अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टाइनी इस्लामिक लडाकु समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारैजनालाई अपहरण गरेको सेनाले जनाएको छ ।

उद्धार गरिएकामा २५ वर्षीय नोआ अर्गमानी, २१ वर्षीय अल्मोग मेइर जनवरी, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया श्लोमी जिभ रहेका छन् । सेनाले बन्धक उद्धारको घोषणा गर्नुभन्दा केही समयअघि नुसिरात शिविर वरपरका ‘हमासका अखडा र संरचना’लाई निसाना बनाइरहेको जनाएको थियो ।

गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार गरिएको भीषण आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।

हमासले ‘मृतकका शव र घाइतेजनलाई सुरक्षित कोठामा राखिएको’ जनाएको छ । ‘नुसिरात शिविरमा इजरायली सेनाले क्रूर र बर्बर आक्रमण गरेको’ हमासले आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित एक विद्यालयमा बिहीबार गरिएको आक्रमणमा ३७ जनाको मृत्यु भएको थियो । त्यसपछि इजरायलमाथि बढ्दो दबाबका बाबजुद नुसिरातमा आक्रमण गरिएको हो ।

इजरायली सेनाले उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ ‘आतंककारी’ मारिएको जनाएको छ ।

सम्बन्धित समाचार