काठमाडौं । मुलुकको आर्थिक अवस्था दयनीय रहेको भए पनि स्थायी सरकारमा रहेका निजामती कर्मचारीहरू लाखौं रुपियाँ खर्चेर विदेश जाने क्रम बढेको छ। राज्यकोषको लाखौं खर्चेर सचिव, सहसचिवलगायतका कर्मचारीहरू विदेश भ्रमणमा निस्कने क्रम पछिल्ला दिनमा हवात्तै बढेको छ।
सरकारका सचिव सहसचिवहरू नै एकपछि अर्को गर्दै विदेश भ्रमणमा लर्को लागेर जान थालेका छन्। कतिपय ठाउँमा शाखा अधिकृत तथा उपसचिव गए पनि हुने कार्यक्रममा सचिव सहसचिवहरू आफैं जाने गरेका छन्। नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने तहमा रहेका सचिव सहसचिवको लगातारको विदेश भ्रमणको मोहले गर्दा सिंगो सरकारको प्रभावकारितामा नै ह्रास आइरहेको देखिन्छ।
अधिकांश मन्त्रालयका सचिव, सहसचिवलगायतका दर्जनौं कर्मचारीहरू विदेश भ्रमणमा व्यस्त हुँदा ती मन्त्रालयहरू निष्प्रभावी बन्न पुगेको भन्दै अन्य कर्मचारीले गुनासो गर्न थालेका छन्।
मन्त्रीहरूले पनि सचिव सहसचिवको विदेश भ्रमणलाई नियन्त्रण गर्न सकेका छैनन् । उल्टै मन्त्रीहरूसमेत सचिवसँगै सेटिङ मिलाएर विदेश भ्रमणमा मस्त हुन थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने बताउँदै आए पनि उहाँ त्यसलाई व्यवहारमा उतार्न असफल हुनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार पछिल्ला हरेकजसो मन्त्रिपरिषद् बैठकले कुनै न कुनै मन्त्रालयका सचिवहरूको विदेश भ्रमणलाई स्वीकृति प्रदान गर्दै आइरहेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार अहिले पनि केही सचिवहरू विदेश भ्रमणमा नै व्यस्त छन् भने केही सचिवहरू विदेश भ्रमण जाने तयारीमा छन्। आजको नेपाल समाचारपत्र दैनिकबाट